काठमाडौँ । नेपालमा शुक्रबार एकैदिन ४४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ४६ हजार ६९१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ५३ हजार ८ पुगेको छ ।
पछिल्लो २४ घन्टामा १७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८२९ पुगेको छ ।
एकैदिन कोरोना संक्रमण निको भई २६६८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या एक लाख ५ हजार ४८८ पुगेको छ । जुन कुल संक्रमितको ६८.९४ प्रतिशत हो ।
काठमाडौँ उपत्यकामा थप २७२० जना संक्रमित थपिएका छन् । काठमाडौँका २३५७, ललितपुरका २३६ र भक्तपुरका १२७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या ६६ हजार ८५६ पुगेको छ । जसमा काठमाडौँमा कुल ५४ हजार १०४, ललितपुरमा ७ हजार ५५२ र भक्तपुरमा ३ हजार ९९१ जना रहेका छन् ।
मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा थप १६ हजार ८६३ जनासहित हालसम्म १३ लाख ६७ हजार १६ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ३ हजार ५९० जना क्वारेन्टाइनमा र ४६ हजार ६९१ जना आइसोलेसनमा रहेका छन् ।
सक्रिय संक्रमितमध्ये ३१ हजार ७२७ जना होम आइसोलेसनमा र १४ हजार ९६४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । मन्त्रालयका अनुसार देशभर २९० जना कोरोना सङ्क्रमित विभिन्न अस्पतालको सघन उपचार कक्षमा र ६९ जना भेन्टिलेटरमा उपचाररत छन् ।
प्रतिक्रिया