काठमाडौँ । नेपालमा शुक्रबार २०५९ जनामा कोरोनाभाइरस पुष्टि भएसँगै संक्रमितको कुल संख्या एक लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख ६७६ पुगेको छ । पछिल्लो २४ घन्टामा १० जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ ।
कोरोना संक्रमण निको भई १६८० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ७३ हजार २३ पुगेको छ । जुन कुल संक्रमितको ७२.५३ प्रतिशत हो ।
काठमाडौँ उपत्यकामा थप १४०९ जना संक्रमित थपिएका छन् । काठमाडौँका १११६, ललितपुरका १६३ र भक्तपुरका १३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या ३६ हजार ८४९ पुगेको छ । जसमा काठमाडौँमा कुल २८ हजार १८, ललितपुरमा ४ हजार ३१९ र भक्तपुरमा २ हजार ९४५ जना रहेका छन् ।
मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।
प्रवक्ता डा गौतमका अनुसार देशभरका ३९ वटा प्रयोगशालामा थप १३ हजार २७९ जनासहित हालसम्म ११ लाख ४५ हजार २३७ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।
उनका अनुसार हाल ४ हजार ७०३ जना क्वारेन्टाइनमा र २७ हजार ५३ जना आइसोलेसनमा रहेका छन् ।
२७ हजार ५३ जना सक्रिय सङ्क्रमितमध्ये १५ हजार ८७७ जना होम आइसोलेसनमा र ११ हजार १७६ जना संस्थागत आइसोलेसनमा छन् ।
मन्त्रालयका अनुसार देशभर ३१८ जना कोरोना सङ्क्रमित विभिन्न अस्पतालको सघन उपचार कक्षमा र ७५ जना भेन्टिलेटरमा उपचाररत छन् ।












प्रतिक्रिया