मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

बीपी क्यान्सर अस्पतालबाट ३८ करोडको निःशुल्क उपचार

बीपी क्यान्सर अस्पतालबाट ३८ करोडको निःशुल्क उपचार


चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट एक वर्षको अवधिमा रु ३८ करोडको निःशुल्क उपचार सेवा प्रदान गरिएको छ । 

अस्पतालको तथ्याङ्कअनुसार सन् २०१९ मा अस्पतालबाट उपचारमा आउने बिरामीको स्वास्थ्य अवस्थाअनुसार निःशुल्क सेवा प्रदान गरिएको हो । यो अवधिमा अस्पतालले म्याक्स फाउण्डेसनको सहयोगमा रक्त क्यान्सरका बिरामीलाई रु २० करोड १९ लाख बराबरको निःशुल्क औषधि उपलब्ध गराएको छ । 

Advertisement

सन् २००४ देखि फाउण्डेसनले भरतपुरस्थित क्यान्सर अस्पतालमा रक्त र आन्द्रा क्यान्सरका बिरामीलाई तीन प्रकारका औषधि वितरण गर्छ । फाउण्डेसनले ग्लिभेक, निलोटिनिब र डासाटिनिब नामक औषधि उपलब्ध गराउँदै आइरहेको छ । यो औषधि अमेरिकाबाट नेपालका दुई अस्पताल पाटन अस्पताल काठमाडौँ र भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आउने गरेको छ ।

अस्पतालका अनुसार हाल ६३० बिरामीले यो सेवा लिइरहेका छन् । त्यस्तै विपन्न सेवामार्फत रु १६ करोडको निःशुल्क उपचार खर्चको सेवा प्राप्त गरेका छन् । सरकारले विपन्न एवं गरिब क्यान्सरका बिरामीका लागि रु एक लाख दिँदै आएको छ । 

अस्पतालमा उपचारका लागि आउने ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई रु १६ लाख ९६ हजार र १५ वर्षमुनिका बालबालिकालाई रु एक करोड ६७ लाख ४१ हजार बराबरको निःशुल्क सेवा दिइएको अस्पतालले जनाएको छ । सन् २०१९ मा बहिरङ्ग विभागमा उपचारका लागि आउने बिरामीको सङ्ख्या एक लाख ४५ हजार ७७६ छ ।

अस्पतालमा देशभर र भारतबाटसमेत बिरामी उपचारका लागि आउने गर्दछन् । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले सरकारले विपन्न सेवामा दिने अनुदानमा वृद्धि गर्नुपर्ने बताए । कार्यकारी निर्देशक गौतमले विपन्न सेवामा दिने अनुदानलाई सरकारले रु दुई लाख पु¥याउन सके क्यान्सरका बिरामीलाई सहयोग पुग्ने बताए । 

गएको १० वर्षको अवधिमा क्यान्सरको उपचारका लागि अस्पताल पुग्ने बिरामीको सङ्ख्या झण्डै १० गुणाभन्दा धेरैले बढेको अस्पतालको तथ्याङ्कले देखाएको छ । विश्वभरि क्यान्सरका बिरामीहरूको तथ्याङ्क राख्ने एक संस्थाले गरेको अनुमानलाई आधार मान्ने हो भने नेपालमा बर्सेनि ५० देखि ७० हजार नयाँ क्यान्सरका बिरामी थपिन्छन् । 

तीमध्ये ३५ प्रतिशतमात्रै अस्पतालमा आउने गरेका छन् । अस्पतालमा दर्ता भएका बिरामीहरुको सङ्ख्याको आधारमा नेपालमा तीव्ररुपमा क्यान्सर रोगी बढिरहेको चिकित्सकको भनाइ छ । क्यान्सरको उपचारका लागि विपन्न सेवामा रकम वृद्धि गर्नसके क्यान्सर लागेका बिरामी समयमै अस्पतालसम्म पुगे मृत्युदर पनि घट्ने चिकित्सकको अनुमान छ । 

 

शेयर गर्नुहोस:

135
Shares