मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

नेपालमा थप ९७९ जनामा कोरोना पुष्टि, एकैदिन ११ सहित मृतकको संख्या ३०० पुग्यो

नेपालमा थप ९७९ जनामा कोरोना पुष्टि, एकैदिन ११ सहित मृतकको संख्या ३०० पुग्यो


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १० हजार ३८२ जनाको पिसिआर परीक्षणका क्रममा ९७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । जसमा १६ हजार २५९ जना संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि देशभर ५० भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

Advertisement

मन्त्रालयका अनुसार चितवन, काठमाडौँ, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, झापा, मकवानपुर, धनुषा, पर्सा, रौतहट, महोत्तरी, सप्तरी, सर्लाही, बारा, डोटी, बाजुरा, कैलाली, कन्चनपुर, पाल्पा, पश्चिम नवलपरासी, दाङ, बाँके, दैलेख, अछाम र रुपन्देहीमा ५०० भन्दा बढी संक्रमित रहेका छन् । सोलुखुम्बु, मुस्ताङ, ताप्लेजुङ, डोल्पा र हुम्लामा संक्रमितको संख्या शून्य छ ।  

प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट चार महिला र सात पुरुष गरी ११ जनाको मृत्यु भएको जानकारी दिए । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ । जसमा २१५ पुरुष र ८५ महिला रहेका छन् ।

सोमबार काठमाडौँ उपत्यकामा ३२६ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँमा २९३, ललितपुरमा २० र भक्तपुरमा १३ जना रहेका छन् । यससँगै राजधानीभित्र संक्रमित हुनेको संख्या ८५८० पुगेको छ । जसमा काठमाडौँका ६९१७, ललितपुरका ९३९ र भक्तपुरका ७२४ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा देशरभरका ४५ जिल्लामा नयाँ सङ्क्रमित भेटिएका छन् । जसमा मकवानपुरका ७३ जना, सुनसरीका ६५, धनुषाका ४४, बाँकेका ४२, सिराहा, बर्दिया र रुपन्देहीका ४१/४१ जना, मोरङका ३९, कास्कीका ३०, काभ्रेका २८, सर्लाहीका २०, सप्तरी, चितवन र सुर्खेतका १९/१९ जना, गोरखाका १८, झापा र नवलपुरका १६/१६ जना र लमजुङका १५ जनामा संक्रमण पुष्टि भएको छ ।

गुल्मीका ८ जना, कञ्चनपुरका ७ जना, पाँचथर र तनहुँका ६/६ जना, पाल्पाका ५ जना, महोत्तरी, दोलखा, सिन्धुपाल्चोक, दैलेख र कैलालीका ३/३ जना, कपिलवस्तु, नवलपरासी र कालीकोटका २/२ जना तथा उदयपुर, भोजपुर, सोलुखुम्बु, सिन्धुली, पर्वत, प्युठान, जाजरकोट, जुम्ला, बझाङ र बाजुराका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म ७ लाख ७७ हजार ५६३ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ४ हजार ७३९ जना क्वारेन्टाइनमा र १६ हजार २५९ जना आइसोलेसनमा रहेका छन् ।  

जसमा संस्थागत आइसोलेसनमा ९ हजार ६६ र होम आइसोसनमा ७ हजार १९० जना रहेका छन् । जसमध्ये १७१ सङ्क्रमितको अति सघन कक्षमा उपचार भइरहेको छ भने १९ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रवक्ता गौतमले बताए । 

त्यस्तै, सोमबार एकैदिन कोरोना संक्रमण निको भई १७३६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३० हजार ६७७ पुगेको छ । जुन कुल संक्रमितको ६५ प्रतिशत हो । 

शेयर गर्नुहोस:

378
Shares