हिमालयखवर संवाददाता
अमेरिका- जनसम्पर्क समिति अमेरिका भित्र अहिले तमासा छ । केही दिन अगाडी समाजिक संजालमा करिव ७ मिनेटको भिडियोले संस्था भित्रको तमासा सार्वजनिक भएको थियो । उक्त भिडियोमा संस्था भित्रका पदाधिकारी विचनै त त र म म देखि , अव के को सभापती भन्ने सम्मका अभिव्यक्तिहरु सार्वजनिक भएका थिए ।
त्यसपछिका तमासाले यो संस्थाको आधिकारिक सभापति को हो भन्नेमा नै अन्यौल सृजना भएको छ । संस्था भित्रका पदाधिकारी र पक्ष विपक्षमा रहेकालाई आफ्नै धुन होला स्वार्थ होला । विद्यानका आफ्नै व्याख्या होलान ? तर, कांग्रेस समर्थक, शुभेच्छुक, नेपालमा रुखमा भोट हाल्ने, कम्युनिष्ट विरोध गर्नेहरुका लागि भने जनसम्पर्क समिति अमेरिका निकम्मा संस्था भईसकेको छ । जनसम्पर्क समितिले यस्ता कांग्रेस समर्थकको हुर्मत नै लिएका छन् । जनसम्पर्क समितिको यो पाराले विदेशमा नेपाली कांग्रेस पार्टीको समर्थन वढउने होइन नोक्सान पुर्याउने गतिविधि भईरहेको छ ।
जनसम्पर्क समितिका सभापति आनन्द विष्टको पदावधि सकिएको झण्डै ३ बर्ष भयो । नेपालमा सुदरपश्चिम थाल थलो भएका आनन्द विष्ट व्यक्तिगत रुपमा मृदु भाषी छन् । न्यूयोर्कमा उनी नेपाली कांग्रेसका कयौं नेतालाई एयरपोर्टवाट ल्याउने, राख्ने, घुमाउने, भाषण गर्ने मञ्च वनाईदिएका छन् । कसैलाई न्यूयोर्कमा गाहे पर्दा उनीसंग सम्पर्क गर्नेलाई भ्यायसम्म सहयोग पनि गरेका छन् । नेपालमा पनि धेर थोर सहयोग पुर्याकै छन् । कोभिड १९ को महामारीमा पनि उनी कयौं नेपालीको दैलोमा पुगे । विष्ट कांग्रेसका बैकल्पिक केन्द्रिय सदश्य पनि हुन् । उनलाई नेपालमा गएर राजनीति गर्ने महत्वकांक्षापनि छ । उनी नेपाली राजनीतिमा जांदा देशका लागि अहिलेभन्दा राम्रै हुन्छ भन्ने पनि थियो । तर, जनसम्पर्क समिति भित्रको तमासाले विष्टको क्षमता माथि नै प्रश्न चिन्ह् लागेको छ । उनको क्षमतामा ग्रहण लागिरहेको छ ।
प्रवासमा जनसम्पर्क समिति समेत राम्रोसंग संचालन गर्न नसक्नेले नेपालका सचेत वन्दै गएका जनताको चाहना अनुसार राजनीति कसरी गर्न सक्छ ? भन्ने प्रश्न पक्कै पनि उठ्ने छ । जनसम्पर्क समिति अमेरिकामा जे भईरहेको छ, त्यसले आनन्द विष्टको क्षमतामा पनि प्रश्न उठाउने ठाउं दिईरहेको छ । अवको कांग्रेस भनेको कृष्णप्रसाद भट्टराई सभापति हुदांको समयको कांग्रेस होइन । चुनावमा संसदको टिकट माग्न जानेलाई सुरवालको इजार खोलेर देखाईददां पनि कांग्रेसमै भोट हाल्ने कार्यकर्तापनि अव छैनन् । जे गर्दा पनि प्रजातन्त्र पक्षधर जनताले कांग्रेसमा भोट हालिहाल्छन् भन्ने सोच्दा कांग्रेस अहिलेको अवस्थामा आएको छ । जसले प्रतिपक्षको भुमिका समेत जनताको चाहना अनुसार गर्न सकेको छैन । जनसम्पर्क समिति अमेरिकामा भएको तमासाले कांग्रेसलाई समेत हानी गरिरहेको छ ।
जनसम्पर्क समिति पार्टी होइन । यो नेपाली कांग्रेसलाई प्रवासवाट सहयोग समर्थन जुटाउन , वढाउन गठन भएको संस्था मात्र हो । अमेरिकामा त समाजिक संस्थाका रुपमा जनसम्पर्क समिति दर्ता छ । यही मान्यता अनुसार यो संस्था चल्नु पर्ने थियो ।
नेपालमा राजनीतिक पार्टी र नेतालाई विदेशमा वस्ने नेपालीको वारेमा खासै चासो पनि छैन । अहिले कोभिड १९ को महामारीमा विदेशमा वस्ने नेपाली माथि जनु व्यवहार भयो, यसले पनि यो पुष्टि गर्छ । विदेशमा स्थायी बसोवासका लागि ग्रिनकार्ड वा पिआर लिनेलाई समेत राजनीति लगायत कयौं स्थानमा वन्देज लगाईएको छ । यहां आउंदा जे भनेपनि नेपालमा गएपछि विदेशमा वस्नेलाई खाली रेमिट्यान्सको स्रोतका रुपमा मात्र हेरिन्छ ।
प्रत्येक बर्ष जसो कांग्रेसका २, ४ जना केन्द्रिय नेता जनसम्पर्क समितिको विवाद मिलाउने भन्दै विभिन्न शहरमा पुग्ने गर्छन । यहां आउंदा सभापतिले भन्नुभएको भन्दै कुरा शुरु गरेर आफ्नो घुम्ने वस्ने दुनो सोझ्याउंछन । कुरा सुने जस्तो गर्छन घुम्छन् नेपाल गए पछि केही न केही । यो कुरा विष्टलाई सवैभन्दा राम्रोसंग थाहा छ । जनसम्पर्क समितिले नेपालवाट आउने नेताको कुरा सुन्ने मात्र होइन, यहांका राम्रा पक्षका वारेमा सिकाएर पठाउने पनि हो । यो भूमिका गर्न जनसम्पर्क समिति पुरै असक्षम भएको छ ।
किन समयमा जनसम्पर्क समितिको अधिवेशन र चुनाव भएन ? यसमा विभिन्न तर्क वितर्क दिने गरिन्छ । नेपाली कांग्रेसको सदश्य हुन नेपाली नागरिक हुनुपर्छ । अमेरिकाको पासपोर्ट लिएपछि नेपाली नागरिकता रहंदैन । ग्रिनकार्ड हुने मात्र सदश्य हुन पाउने नागरिकता लिनेले नपाउने कांग्रेसको विधानका कारण समस्या परेको पनि वताईन्छ । पार्टी नेताका निर्देशन देखाउने भन्ने गरिन्छ । यि सवै कुतर्क मात्र हुन । जनसम्पर्क समिति अमेरिकी कानुन अनुसार दर्ता भएको हुदां ग्रिनकार्ड वा नागरिकताको तर्क दिनु कुतर्कमात्र हो । यहां कांग्रेस समर्थक जो कोही नेपाली पनि जनसम्पर्क समितिको सदश्य हुन पाउनु पर्छ । ग्रिनकार्ड छ कि नागरिकता किन सोध्नु पर्यो । अमेरिकाले जनगणनामा समेत यो सोधेको छैन । यसमा मौन वस्दा के फरक गर्छ । यहां नागरिकता लिएपनि हामीहरु मध्ये कयौंले नेपाली नागरिकता देखाएर काम लिएकै छौं । नागरिकताको विवाद नेपालीको मर्ममै छुने र गम्भिर सवाल हो । यो तत्काललाई टुंगिदैन ।
प्रजातान्त्रिक संस्थामा नियमित रुपमा अधिवेशन हुन्छ र निर्वाचन वाट नेतृत्व छानिन्छ । तत्काल आफ्नो पदवाट राजिनामा दिई नयां नेतृत्वका लागि चुनाव गराउंदा आनन्द विष्ट शान वढाउंछ । उनको भूमिका जनसम्पर्क समितिमा मात्र सिमित छैन । हुनु पर्दैन । कांग्रेसका बैकल्पिक केन्द्रिय सदश्यका रुपमा उनको स्थान जहां पनि रहन्छ । जनसम्पर्क समितिको विवाद विश्वका कयौं देशमा छ । नेपाली कांग्रेस पार्टीका नेताले कंहिको पनि विवाद समाधान गर्न सकेका छैनन् । अव जनसम्पर्क समितिलाई कसरी चलाउने उदाहरण दिने मौका पनि विष्ट र उनको टिमको कांधमा छ । बैकल्पिक केन्द्रिय सदश्य भएकाले उनको यो जिम्मेवारी पनि हो ।
कांग्रेसको आउने महाधिवेशनमा वर्तमान सभापतिलाई ५, ६ भोट जुटाउनका लागि पदमा टासिंदा यसले कांग्रेस पार्टीलाई फाइदा हुदैंन । प्रजातान्त्रिक प्रकृया अनुसार अधिवेशन समेत गराउन नसक्ने नेतृत्वकर्ताले नेपालमा आफुलाई राजनीतिमा के भनेर समक्ष सावित गर्ने ? यस्ता व्यक्ति नेपालमा गएर अव राजनीति गर्न समेत योग्य हुदैंनन् । विष्टको हकमा पनि यही लागु हुन सक्छ । जनसम्पर्क समितिलाई प्रजातान्त्रिक प्रकृया अनुसार यसरी चलाउनु पर्छ, भन्ने उदाहरण दिने ढिलो भईसकेको छ । यो अमेरिकावाट शुरु नगरे कहां वाट गर्ने ।
जनसम्पर्क समिति अमेरिकामा दर्ता छ । त्यस अनुसार म अधिवेशन गराउंछु योग्य निर्वाचित नेतृत्वलाई जिम्मेवारी दिन्छु भन्दा कसले नमाल्ला । कांग्रेस सभापतिको यसमा आपत्ति छ, भने वुझाउन सक्नु पर्यो । अरुको आपत्तिको खासै अर्थ राख्दैन । सभापतिको दौराको फेरमात्र समातेर पदमा टिक्न सकिएला तर, योग्य राजनीतिक नेता भने हुन सकिदैंन ।
प्रतिक्रिया