मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना भाइरसका कारण विदेशमा व्यवसाय भएका नेपालीको आम्दानी घट्ने

कोरोना भाइरसका कारण विदेशमा व्यवसाय भएका नेपालीको आम्दानी घट्ने


-हिमालयखबर संवाददाता
अमेरिका । कोरोना भाइरस (कोभिड-१९) विश्वव्यापी संकटका रुपमा आएकाले विदेशमा व्यवसाय गर्ने नेपाली प्रभावित हुने भएका छन् । यस महामारीका कारण उनीहरुको आम्दानी घट्ने भएको हो । विगत साढे एक दशकयता नेपालीले विदेशमा व्यापार व्यवसाय विस्तार गरिरहेका थिए ।
 
कोरोना संकटबाट नेपालको बहुराष्ट्रिय कम्पनी चौधरी ग्रुप, जापानमा रेष्टुरेन्ट सञ्चालन गर्ने भवन भट्ट्, युरोपमा होटल व्यवसायमा संलग्न जीवा लामिछाने, कुमार पन्तलगायतलाई प्रत्यक्ष असर पर्ने छ । यस्तै अमेरिका, युरोप, अष्ट्रेलिया, दक्षिण कोरिया, जापान, खाडी मुलुक, मलेसिया, चीनलगायतका देशमा व्यवसाय गर्ने सयौँ नेपालीहरु पनि कोरोना भाइरसबाट प्रभावित हुने भएका छन् ।
 
अमेरिकामा रेष्टुरेन्ट, आइब्रो सैलुन, होटलमा लगानी गर्ने नेपालीका व्यवसायमा ग्राहकको संख्या घट्न थालेको छ । झण्डै एक दर्जन आइब्रो सञ्चालन गर्ने एक नेपाली व्यवसायीले आफ्नो नाम सार्वजनिक नगर्न आग्रह गर्दै भनेका छन्, ‘मेरा ग्राहक अहिले ७० प्रतिशतले घटेका छन्, व्यवसाय चौपट भएको छ ।’
 
चौधरी समूहले केही वर्षयता विश्वका विभिन्न देशमा आक्रामकरुपमा होटलमा लगानी गरेको थियो । नेपाल, मालदिभ्स, भारत, श्रीलंका, अमेरिकालगायतका देशमा विभिन्न नाममा चौधरी समूहका होटल सञ्चालित छन् ।
 
कोरोना भाइरसले विश्वव्यापीरुपमा पर्यटकको संख्यामा गिरावट आएको छ । कयौँ देशले विदेशीलाई प्रवेश बन्द गरेका छन्  । यसले गर्दा विश्वव्यापीरुपमा पर्यटन व्यवसाय संकटमा परेको छ । यसको असर चौधरी समूहलाई पनि पर्ने छ ।
 
न्यूयोर्कमा अहिले होटलको अकुपेन्सी दर करिब ६० प्रतिशतले घटेको छ । अन्य देशका मुख्य पर्यटक गन्तव्य पनि सुनसान छन् । विभिन्न मुलुकका सरकारले नै आफ्ना नागरिकलाई अत्यावश्यक अवस्थाबाहेक विदेश नजान आग्रह गरेको छ । 
 
महँगा होटल रहेको मालदिभ्समा समेत कोरोना भाइरसका संक्रमित भेटिएको अवस्था छ । नेपालमा पनि पर्यटन आगमन ह्वात्तै तल झरेको छ । नेपालमा पनि काठमाडौँ, चितवनको मेघौलीमा चौधरी ग्रुपका होटल सञ्चालनमा छन् ।
 
चौधरी समूहका अध्यक्ष विनोद चौधरी विश्व अर्बपतिको सूचीमा परेका एकमात्र नेपालका बहुर्राष्ट्रिय उद्यमी हुन् । कोरोनाको प्रकोपका कारण सन् २०२० उनका लागि सहज हुने छैन ।
 
जापानमा रेष्टुरेन्टमा लगानी गरेर धनी भएका भवन भट्टका लागि पनि २०२० आम्दानीका दृष्टिले असहज हुने भएको छ । जापान पनि कोरोनाको संक्रमणले ग्रस्त छ । जापानका ट्रेन स्टेसनलगायत भीडभाड हुने स्थानमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका भवनका नेपालमा पनि होटल व्यवसायमा लगानी छ । यस्ता ठाउँमा अहिले भीडभाड कम छ । केही वर्षअघि भवनले धुलिखेल माउन्टेन रिसार्ट किनेका थिए ।
 
जीवा लामिछाने र कुमार पन्त पनि होटल व्यवसायी हुन् । युरोपका विभिन्न देशमा जीवा र कुमारका होटल छन् । अहिले युरोप कोरोनाका कारण अस्तव्यस्त भएको छ । सधैँ पर्यटकको भीडभाड हुने स्थानहरुसमेत सुनसान देखिएका छन् । कयौँ देशहरुले विदेशको आगमन बन्दसमेत गरेका छन् । जीवा लामिछानेले नेपालमा पनि होटलमा लगानी गरेका छन् ।
 
यसबाहेक सानो रुपमा अमेरिका, युरोप र एसियामा होटल सञ्चालन गर्ने नेपालहरु पनि कयौँ छन् । कोरोना भाइरसको महामारीको असरले उनीहरु पनि मर्कामा पर्ने छन् ।
 
सन् २००८ को मन्दी पछि नेपालीहरुले विदेशमा लगानी विस्तारलाई तीव्रता दिएका थिए । अहिले विदेशमा करिब ५० लाख नेपाली छन् । काम गर्दै जम्मा भएको पुँजी विदेशमा बस्ने नेपालीले त्यहीँ लगानीसमेत गर्दै आएका थिए ।
बेलायतमा नेपालीका कयौँ रेष्टुरेन्ट छन् । अहिले बेलायत पनि कोरोनाको चपेटामा परेको छ ।
 
अमेरिकामा सन् २००८ को आर्थिक मन्दीले गर्दा कयौँ व्यवसाय सस्तो भएका थिए । त्यो सस्तो भएको अवसरलाई उपयोग गर्दै नेपालीले लगानी बढाएका थिए । यसरी लगानी बढाएका नेपाली समुदाय अहिलेको संकटले नयाँ अनुभव दिने छ ।
 
अमेरिकामा नेपाली समुदायले कम्तीमा दुई सय अर्ब नेपाली रुपैयाँ बरावरको लगानी गरेको अनुमान छ । अमेरिकामा पैसा कमाएका नेपाली समुदायले नेपालमा समेत लगानी गर्ने क्रम बढ्दो थियो ।
 
अमेरिकाले आफ्नो अर्थतन्त्रलाई कोरोना भाइरसको संकटबाट सिर्जित अवस्थाको असर कम पर्न दिन विभिन्न प्रकारका आर्थिक सहुलियत घोषणा गरेको छ ।
 
अष्ट्रेलिया, चीन, मेलेसिया, खाडी मुलुकमा पनि नेपालीका व्यवसाय छन् । त्यहाँ पनि आम्दानी घट्ने  छ । चीनमा व्यापार व्यवसाय गर्दै आएका कयौँ नेपाली फर्किन सकेका छैनन् ।
 
कोरोनाको विश्वव्यापी संकटले रेमिट्यान्स आप्रवाहमा समेत असर पुग्ने अनुमान गरिएको छ । विदेशमा बस्ने करिब ५० लाख नेपालीले नेपालमा पठाएको रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा करिब ३५ प्रतिशत योगदान पुग्दै आएको छ ।