मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सहमति कार्यान्वयन नभएपछि समाजवादी पार्टीले सरकार छाड्यो

सहमति कार्यान्वयन नभएपछि समाजवादी पार्टीले सरकार छाड्यो


काठमाडौँ । समाजवादी पार्टी सरकारबाट बाहिरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग गरेको संविधान संशोधनलगायत दुईबुँदे सहमति कार्यान्वयन नभएको भन्दै  पार्टीले आफू सरकारबाट बाहिरिएको घोषणा गरेको हो । 
 
सो पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवले आफूले पदबाट राजीनामा दिएको विज्ञप्तिमार्फत जानकारी गराएका छन् । 
 
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यादवले ‘यही पुस ७ गतेको मन्त्रिपरिषद् बैठकमा आफूले संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न संविधान विज्ञ सम्मिलित विज्ञ सुझाव समिति गठन गर्न गरेको प्रस्तावलाई अस्वीकार गरेकाले’ आफूले मन्त्रीबाट राजीनामा दिएको उल्लेख गरेका छन् । 
 
“दुईबुँदे सहमतिबाट सरकार पछि हटेको तथा सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएकोले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको हुँदा आजकै मितिबाट लागू हुने गरी उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध गर्दछु” विज्ञप्तिमा भनिएको छ । 
 
तत्कालीन संघीय समाजवादी पार्टी फोरम संविधान संशोधनलगायत माग पूरा गर्ने शर्तमा सरकारमा सहभागी भएको थियो । 
 
समाजवादीले मन्त्रिपरिषद् बैठक तथा संसदमा पटकपटक विषय प्रवेश गराउनाका साथै संविधानलगायत विषय राखी प्रधानमन्त्रीसमक्ष स्मरणपत्र पनि दिएको तर सुनुवाइ नभएको आरोप लगाएको छ । 
 
सोही पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले पनि आजै पदबाट राजीनामा दिएका छन् । 
 
“मलाई नेपाल सरकार शहरी विकास मन्त्रालयको मन्त्री पदमा नियुक्त गरी कामकाजको जिम्मेवारी दिनुभएकोमा संविधानको धारा ७७ को उपधारा २ (क) बमोजिम मैले उक्त मन्त्री पदबाट राजीनामा दिएको छु, सहकार्य गर्ने अवसर दिएकोमा विशेष धन्यवाद व्यक्त गर्दछु”, मन्त्री राईद्वारा जारीे विज्ञप्तिमा भनिएको छ । समाजवादी पार्टीका तर्फबाट संसदमा १७ सांसद् छन् ।

शेयर गर्नुहोस:

0
Shares