मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

यसरी स्वागत गरियो चिनियाँ राष्ट्रपतिलाई

यसरी स्वागत गरियो चिनियाँ राष्ट्रपतिलाई


काठमाडौँ । दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आएका छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीनफिङको भव्य स्वागत गरिएको छ ।  
 
त्रिभुवन विमानस्थलदेखि सोल्टी होटलसम्म उनी सवार हुने मार्गमा राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सर्वसाधारणले उनको स्वागत गरेका थिए ।  
 
अपराह्न पौने ५ बजे राष्ट्रपति सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उहाँको स्वागतका लागि कर्मचारी र सर्वसाधारण ४ बजेदेखि नै सडकमा दुवै देशको झण्डा लिएर स्वागतका लागि प्रतीक्षारत थिए । 
 
उनीहरुले करिब दुई घन्टाको प्रतीक्षापछि सीलाई स्वागत गर्न पाएका थिए ।  सी विमानस्थलबाट सोल्टी होटेलमा जाँदा सडकका दुवै किनारमा रहेका कर्मचारी, युवा, विद्यार्थी, बालबालिका र सर्वसाधारणले उनलाई नेपाल र चीनको झण्डा हल्लाएर स्वागत गरेका थिए । 
 
उनलाई विभिन्न जातजातिको पहिचान झल्कने झाँकी, पञ्चैबाजा र नाचले समेत स्वागत गरिएको थियो । 
 
तीनकुने, नयाँ बानेश्वर र बबरमहल, माइतीघर मण्डल, थापाथली, त्रिपुरेश्वर, कालीमाटी र सोल्टीमोडसम्म उनको स्वागतका लागि सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो । 
 
राष्ट्रपति सीलाई स्वागतका लागि बनाइएका स्वागतद्वार, परम्परागत संस्कृति झल्कने ब्यानर, सडकको दुवैतर्फ राखिएका फूलसमेत राखिएको थियो । उनी त्रिभुवन विमानस्थलमा ओर्लिएसँगै सवारी मार्गलाई खाली गरिएको थियो । 
 
चिनियाँ विशिष्ट पाहुनाको आवागमन हुने सडकमा ठाउँठाउँमा  ‘सर्वोच्च शिखर सगरमाथाजस्तै उँचो नेपाल चीन मैत्री’, ‘नेपाल चीन मित्रता विशाल, गहन र अटल’, ‘बुद्ध र सगरमाथाको देशमा हार्दिक स्वागत छ’ लेखिएका  ब्यानर र स्वागतद्वार बनाइएका थिए । 
स्वागतका लागि जम्मा भएका कर्मचारी र सर्वसाधारण राष्ट्रपति सी आउनुअघि दुवै देशको झण्डासहितको तस्वीर खिंच्न व्यस्त थिए । 
 
उनी आउनुअघि सडकको धुलो हटाउन सडकमा पानी र ब्रुमरले सरसफाइ गरिएको थियो । राष्ट्रपति सीको स्वागतपछि सर्वसाधारणले बेहुलीझैँ सिंँगारिएको माइतीघरमण्डलमा सेल्फी  खिंच्न व्यस्त देखिन्थे । 
 
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी आजदेखि दुईदिने राजकीय भ्रमणमा यहाँ आएका हुन् । तस्बिर-रासस