नेपाल

महोत्तरीमा बौलाहा कुकुरको बिगबिगी, एकैदिन ५० जना घाइते

महोत्तरीमा बौलाहा कुकुरको बिगबिगी, एकैदिन ५० जना घाइते


जलेश्वर । महोत्तरीमा एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेको छ । 
 
जिल्लाको विभिन्न तीन वटा स्थानीय तहमा मङ्गलबार एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेको हो ।
 
महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जिल्लाको मनरासिस्वा नगरपालिका, एकडारा गाउँपालिका र जलेश्वर नगरपालिकामा ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेर घाइते बनाएको छ ।
 
कुकुरबाट घाइते हुनेलाई जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि जनकपुर अस्पतालमा पठाइएको जिल्ला अस्पताल जलेश्वरका डा मृत्युञ्जयकुमार ठाकुरले बताए ।
 
उनका अनुसार मङ्गलबार दिउँसो करीब ३ बजेदेखि राति ७/८ बजेसम्म कुकुरले टोकेका व्यक्ति आउन थालेपछि जिल्ला अस्पतालमा कुकुरले टोकेपछि लगाउने सुई एआरभी र इम्युनोग्लोबलिन उपलब्ध नभएका कारण उनीहरूलाई जनकपुर अस्पतालमा रिफर गरिएको हो । 
 
डा ठाकुरले सुरूमा महोत्तरीको मनरासिस्वा नगरपालिकामा घाइते भएकाहरू आए पनि साँझदेखि महोत्तरीको विभिन्न स्थानबाट उपचार गराउन आइरहेका हुन् ।
 
बौलाहा कुकुरले सुरूमा महोत्तरीको मनरासिस्वा नगरपालिकामै २० जनाभन्दा बढी व्यक्तिलाई टोकेको थियो ।
 
एकैदिन ५० जनाभन्दा बढी व्यक्तिलाई टोकेर घाइते बनाएका बौलाहा कुकुरलाई गोली हानी मार्नका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट २० जना प्रहरीको टोली खटाइसकिएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।