मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

समुन्नत समाज निर्माणका लागि सञ्चारमाध्यमको भूमिका अग्रणी : राष्ट्रपति भण्डारी

समुन्नत समाज निर्माणका लागि सञ्चारमाध्यमको भूमिका अग्रणी : राष्ट्रपति भण्डारी


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले समुन्नत समाज निर्माणका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताएकी छन् । 
 
प्रेस काउन्सिल नेपालको ५० औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले जिम्मेवार र मर्यादित प्रेसले मात्रै समृद्ध र समुन्नत समाज निर्माणका लागि महत्वपूर्ण योगदान गर्नसक्ने बताइन् । 
 
राष्ट्रपति भण्डारीले लोकतन्त्र स्थापना र सामाजिक परिवर्तनका लागि प्रेसले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेकोमा उच्च प्रशंसा गर्दै तल्लो तहका जनताको आवाज मुखरित गर्न प्रेसले अझै महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताइन् । उनले स्वतन्त्र प्रेसको अवधारणाले लोकतन्त्र, मानवअधिकार, महिला बालबालिका, शान्ति र सहिष्णुतालाई थप बढावा दिने भएकाले त्यसतर्फ ध्यान केन्द्रित गर्न आग्रह गरिन् । 
 
राष्ट्रपति भण्डारीले प्रेस क्षेत्र जनतालाई सुसूचित गराउने महत्वपूर्ण माध्यम भएकाले यसबाट गलत सूचना प्रवाह भए सही सूचना प्राप्त गर्ने नागरिकको हक कुण्ठित हुने भएकाले त्यसतर्फ विशेष ध्यान दिनसमेत आग्रह गरिन् । 
 
स्वतन्त्र प्रेसको लक्ष्य समुन्नत समाज निर्माण गर्ने नै भएको सन्दर्भमा वर्तमान सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को साझा राष्ट्रिय सङ्कल्प साकार पार्न राज्यको चौथो अङ्गको रूपमा रहेको सञ्चार क्षेत्रले पनि महत्वपूर्ण योगदान गर्ने उनको भनाइ थियो ।
 
वर्तमान विश्वसामु रहेका अवसर र चुनौतीलाई सम्बोधन गर्न आमसञ्चार जगत्को ठूलो जिम्मेवारी थपिएको महसुस आफूले गरेको उनले बताइन् । 
 
राष्ट्रपति भण्डारीले तीव्ररूपमा भइरहेको जलवायु परिवर्तन र वातावरण असन्तुलनले प्राकृतिक प्रकोप बढेर जनधनको क्षति हुन पुगेको विषयलाई समेत प्रमुख प्राथमिकतामा राखेर हेर्न सञ्चार जगत्लाई आग्रह गरिन् । उनले सो अवसरमा प्रेस काउन्सिल स्थापना गर्न र आजको अवस्थासम्म ल्याउन भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिइन् । 
 
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालको पत्रकारिता विगतमा अनेकन रूपमा अगाडि बढ्दै आएको भए पनि पछिल्ला दिनमा वास्तविक पत्रकारिताको दिशामा केन्द्रित रहेको बताए । सामाजिक सञ्जाल र मूलधारको पत्रकारिता फरक हो भन्ने बहस भइरहेको उल्लेख गर्दै उनले स्वतन्त्रताको सीमा नहुने भए पनि मर्यादाको भने सीमा हुने उल्लेख गरे ।