मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संविधान दिवस घरघरमा मनाउन सरकारको आग्रह

संविधान दिवस घरघरमा मनाउन सरकारको आग्रह


काठमाडौँ । राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक आन्दोलन र संविधानप्रति नयाँ पुस्तामा समेत जागरण पैदा गर्न आसन्न संविधान दिवस तथा राष्ट्रिय दिवसमा हात हात र घरघरमा राष्ट्रिय झण्डा फहराइने भएको छ । 
 
नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानको जगमा जनताका प्रतिनिधिले बनाएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीसहितको संविधान जारी भएको दिन मनाइने राष्ट्रिय उत्सव दिवसलाई मौलिक बनाउन राष्ट्रिय झण्डालाई विशेष महत्व दिइएको हो ।  
 
सरकारले राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि, २०६९ परिवर्तन गरी राष्ट्रिय झण्डालाई निजी घरमा पनि राख्न पाइने गरी निर्देशिका समेत परिवर्तन गरेको छ । दिवसको मूल समारोह समितिअन्तर्गत गठित प्रचारप्रसार उपसमितिको आजको बैठकमा सो अवसरमा राष्ट्रिय झण्डा र राष्ट्रियतालाई केन्द्रमा राखी संविधानको महत्व झल्काइने जानकारी दिइएको हो । 
 
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अध्यक्षतामा गठित उपसमितिले संविधानबारे विशेष सामग्री प्रकाशन, प्रसारण गर्न सबै सञ्चारमाध्यमलाई आग्रह पनि गरेकोे छ । विसं २०७२ असोज ३ गते संविधानसभाबाट निर्मित नेपालको संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाइन्छ ।
 
प्लाष्टिकको बनाउन नपाइने र कपडा वा कागजको झण्डा हुनुपर्ने निर्देशिकामा उल्लेख छ । झण्डालाई सम्मानपूर्वक प्रयोग गरी टिसर्टका रुपमा पनि लगाउन पाइने प्रबन्ध गरिएको छ । 
 
राष्ट्रिय झण्डा हरेक राष्ट्रको गौरव, सम्मान तथा शान्ति र क्रान्तिको प्रतीक मानिन्छ । राष्ट्रिय महत्वलाई झल्काउँदै सबै जातजाति र समुदायबीच एकता र सद्भाव कायम गर्नमा झण्डाको भूमिका अतुलनीय हुन्छ । दुई त्रिकोणमध्ये माथि चन्द्र र तल सूर्य अङ्कित सिम्रिक रङको नेपालको राष्ट्रिय झण्डा विश्वकै पृथक र आकर्षकमध्ये मानिन्छ । चन्द्रले शीतल तथा सूर्यले तेज र अटलताको संकेत गर्छ ।
 
मन्त्री बाँस्कोटाले २०६२/०६३ मा जन्मेका नयाँ पुस्ताले पनि संविधानबारे बोध गर्ने गरी आकर्षक प्रचारप्रसार हुनुपर्ने भएकाले यसका लागि नवीन सुझाव ग्रहण गरिने बताए । “संविधान त्यतिकै आएको होइन, अब संविधान संशोधन भए पनि अर्को राष्ट्रिय दिवस हुँदैन । जो जो जतिसुकै उफ्रे पनि गणतन्त्र फालिँदैन ।” सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले भने, “कतिपय अवस्थामा अराजकता पनि देखिन्छ, अधिकारको उन्माद तर कर्तव्यको शून्यता देखिन्छ । 
 
यस्तो अवस्था अन्त्यका लागि युवापुस्तालाई पनि समेट्ने कार्यक्रम गरौँ । हरेक प्रगतिभित्र इतिहासको जीवन्तताको विरासत भने चाहिन्छ ।” उहाँले सो दिन उत्सवको दिन भएकाले कर्मचारीलाई बिदा दिइए पनि अन्य व्यक्तिगत कामका लागि नभई उत्सव मनाउन बिदा दिइएको स्पष्ट गरे । 
 
मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले दिवसलाई व्यापक र जनस्तरमा लैजान यही भदौ ४ गते सम्पन्न मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री एवं मूल समारोह समितिका अध्यक्ष केपी शर्मा ओलीको निर्देशनानुसार सबै नेपालीले हाम्रो दिवस हो भन्ने भावना विकासका लागि उपसमितिको महत्वपूर्ण भूमिका हुने बताए ।