चितवन । चर्चित सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलले अदालतको आदेशसँगै रिहा भएपछि आज चितवनको नारायणी नदी किनारमा हजारौँ समर्थकलाई सम्बोधन गर्दै धन्यवाद एवम् आभार व्यक्त गरेका छन् ।
रवि र युवराजलाई न्यूज २४ को कार्यालयबाटै पक्राउ गरी चितवन ल्याइएसँगै चितवनमा उनको समर्थनमा हजारौँ समर्थकले प्रदर्शन गरेका थिए । न्यायका पक्षमा आवाज उठाउँदै रिहाइको माग गरेका दाजुभाइ, दिदीबहिनी तथा समस्त आमाबुबाप्रति नतमस्तक हुँदै उनले आफूप्रति चितवनवासीले दर्शाएको माया ममताको गुन सञ्चारकर्ममा लागेर पूरा गर्ने बताए ।
रविको धन्यवाद सभामा चर्को घामको समेत पर्वाह नगरी छाता ओढेर हजारौँ जनता नारायणी किनारमा उपस्थित भएका थिए ।
कार्यक्रममा रवि लामिछाने र युवराज कँडेलले सम्बोधन गरेका थिए । उनीहरुले ७७ वटै जिल्लाबाट चितवन आएर आफूहरुको न्यायका लागि आवाज उठाएका हजारौँ आमसमुदायलाई धन्यवाद दिए । सञ्चारकर्मी लामिछानेले आमनागरिकले आफूप्रति देखाएको माया र सद्भावले गर्दा भविष्यमा अझ जिम्मेवारीपूर्ण ढंगले नागरिकका पीडा र आवाजलाई उठाइरहने प्रतिबद्धता व्यक्त गरे ।
सम्बोधनका क्रममा रविले खाली खुट्टा न्याय माग्दै सीधाकुरा जनतासँग कार्यक्रममा आएका पीडित, शोषित, म्यानपावरबाट ठगिएका, सामन्तको जालझेल र ऋणले घरबारविहीन भएका, अलपत्र परेका पीडितहरुले कहाँबाट लाखौँ रुपैयाँ दिए, उल्टै भाडा तिरेर पठाउने व्यक्तिलाई केहीले आधारहीन कुरा गरेर चरित्रहत्या गरेकोप्रति उनले दुःख प्रकट गरे ।
आमाबुबा, दिदीबहिनी र शुभेच्छुकको माया र आर्शीवादले सधैँ असल कर्ममा लाग्ने उत्प्रेरणा बढेको उनको जिकिर थियो । उनले आफूले सक्ने कुरामात्र बोल्ने र बोलेका कुरा पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
धन्यवाद सभामा उपस्थित हुनुअघि उनले प्रदर्शनका क्रममा प्रहरीको लाठीचार्जबाट घाइते भई विभिन्न अस्पतालमा उपचार गराइरहेका समर्थकहरुलाई भेट गरी उनले घाइतेहरुप्रति स्वास्थ्यलाभको कामना गरे । उपचारमा कुनै कमी नगर्न चिकित्सकहरुलाई आग्रह गर्दै घाइतेहरुलाई आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
घाइतेहरुले तपाईंको उपस्थिति नै हाम्रा लागि ठूलो कुरा हो । तपाईं आएर स्वास्थय स्थिति सोध्नु भयो यसैमा हामी खुशी छौँ भनेर हार्दिकता प्रकट गरेका थिए ।
प्रतिक्रिया