मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रवि लामिछाने पाँच लाख धरौटीमा रिहा, भोलि हजारौँ समर्थकमाझ सम्बोधन गर्ने

रवि लामिछाने पाँच लाख धरौटीमा रिहा, भोलि हजारौँ समर्थकमाझ सम्बोधन गर्ने


भरतपुर । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दा चलाइएका चर्चित सञ्चारकर्मी रवि लामिछानेलाई चितवन जिल्ला अदालतले सोमबार साँझ रिहा गरेको छ ।
 
जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।  
 
सरकारी वकिलको तर्फबाट गोपीलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत आठ अभिवक्ताले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए । 
 
आरोपितहरुमध्ये पत्रकार युवराज कँडेललाई तीन लाख रुपैयाँ धरौटी र अस्मिता कार्की लाई साधारण तारेखमा रिहा गरिएको हो । पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरिएको भनिएको भिडियोको आधारमा चितवन प्रहरीले सञ्चारकर्मी लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई आत्महत्या दुरुत्साहनअनतर्गत मुद्दा दायर गरेको थियो । मुद्दामा आरोपितहरुसँग अदालतले आइतबार र सोमबार दुई दिन लगातार बयान लिएको थियो । 
 
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा उनीहरुको बयान सकिएपश्चात् थुनछेकको लागि मुद्दाको पक्षमा र विपक्षमा वकिलहरुले बहस गरेका थिए ।
 
आत्महत्या प्रकरणमा संलग्न भएको आरोपमा चितवन प्रहरी र काठमाडौँ प्रहरीको संयुक्त टोलीले सञ्चारकर्मी लामिछाने र कँडेललाई साउन ३० गते साँझ न्यूज २४ टेलिभिजनको कार्यालयबाटै  पक्राउ गरी चितवन ल्याएको थियो । अर्की आरोपित अस्मिता कार्कीलाई भने साउन २९ गते नै प्रहरीले काठमाडौँको कलंकीबाट पक्राउ गरेको थियो ।
 
पत्रकार पुडासैनी साउन २० गते चितवनको होटल कंगारुमा झुण्डिएको अवस्थामा फेला परेका थिए । पुडासैनी पत्रकार रविकै टिममा रहेर सीधा कुरा जनतासँग कार्यक्रममा रिपोर्टिङ गर्दै आएका थिए ।  दुई महिनाअघिमात्रै उनी सो टिम छाडेर माउन्टेन टेलिभिजनमा कार्यक्रम चलाउँदै आएका थिए ।