मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रविको रिहाइ माग गर्दै हजारौँ समर्थक सडकमा, प्रहरीद्वारा लाठीचार्ज र अश्रुग्यास प्रहार

रविको रिहाइ माग गर्दै हजारौँ समर्थक सडकमा, प्रहरीद्वारा लाठीचार्ज र अश्रुग्यास प्रहार


चितवन । माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा प्रहरी हिरासतमा रहेका न्यूज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्की आइतबार रिहा हुने अपेक्षाका साथ चितवनमा भेला भएका हजारौँ समर्थकहरुले दिनभरि नै सदरमुकाम भरतपुरमा भेला भई प्रदर्शन गरे । 
 
सरकारी वकिलको कार्यालयले प्रहरी प्रतिवेदनकै आधारमा अदालतमा मुद्दा दर्ता गरेको छ । साउन ३० गते नियन्त्रणमा लिइएका तीन आरोपितलाई दुईपटक गरी १० दिनको म्याद थप गरेको थियो । प्रहरीले तयार गरेको मुद्दाको अध्ययन प्रतिवेदन र रायसुझावसहितको मिसिल सरकारी वकिलको कार्यालयमा बुझाएपछि सरकारी वकिलले आत्महत्या दुरुत्साहनअन्तर्गत अभियोजनसहित अदालतमा मुद्दा दर्ता गराएको हो । 
 
रविलाई भेट गर्न सञ्चारकर्मी हरिशरण लामिछाने, पत्रकार ऋषि धमला, कलाकारहरु प्रहरी कार्यालय पुगेका थिए । चर्चित व्यक्तिहरुको आगमन भएकाले रवि आजै छुट्ने अनुमानका साथ धेरै टाढाबाट पनि मानिस आएका थिए । फूलमालासहित देशका विभिन्न जिल्लाबाट भेला भएका समर्थकले रविको रिहाइको माग गरेका थिए ।
 
समर्थकको भीड बढ्दै गएपछि प्रहरी दमनमा उत्रिएको थियो । समर्थकले ढुंगा हान्न थालेपछि दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरी र समर्थकबीच झन्डै एकघन्टा झडप भएको थियो । घटनामा १० प्रदर्शनकारी पक्राउ परेका छन् । डीएसपीसहित चार प्रहरी घाइते भएको चितवन प्रहरी प्रवक्ता एकनारायण कोइरालाले बताएका छन् । 
 
अब के हुन्छ ? 
 
सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा गराएपछि अब अदालतबाटै मुद्दाको छिनोफानो हुनेछ । आइतबारदेखि अदालतले आरोपितहरुलाई बयान लिने कार्य सुरु भएको छ । आज अस्मिताको बयान सकिएको छ भने सोमबार रवि र युवराजको बयान लिइने छ । अदालतले बयान लिने कार्य सकिएपछि थुनछेकको बहस हुनेछन् । 
 
अब दुवै पक्षका वकिलले बहस गर्नेछन् । दुवै पक्षका वकिलको बहस सुनिसकेपछि सम्मानित जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले मुद्दा प्रक्रियाको छिनोफानो गर्नेछन् । 
 
थुनछेकको आदेशपश्चात् आरोपितहरु धरौटीमा रिहाइ हुने वा आत्महत्या दुरुत्साहनअन्तर्गतको अभियोजनअनुसारै कारागार चलान भई मुद्दा प्रक्रिया अघि बढ्नेछ । बहस सकिएपछि पनि थुनछेकको आदेशका लागि केही दिन लाग्न सक्ने छ । यसका लागि कम्तीमा दुई दिन पर्खनैपर्ने हुन्छ । 
 
आत्महत्या दुरुत्साहनअन्तर्गत कसुर प्रमाणित भएमा मुलुकी अपराध संहिताअनुसार पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था रहेको छ । प्रतिवादीका हकमा आत्महत्या गर्न दुरुत्साहन गरेको नदेखिने भएकाले रविलगायत तीनैजना ससम्मान रिहा हुने विश्वास गर्न सकिन्छ । 
 
यस सम्बन्धमा अपराध अनुसन्धानमा लामो अनुभव भएका पूर्वप्रहरी अधिकृत, न्यायसम्पादन गरेका न्यायमूर्ति, भूतपूर्व सिडियो र राष्ट्रसेवकहरुले रवि ससम्मान रिहा हुने विश्लेषण गर्दै आएका छन् । 
 
गत साउन २० गते राति चितवनको पोखरा बसपार्कस्थित होटल कंगारुमा नुवाकोट बेलकोटगढी ३ घर भएका शालिकराम पुडासैनीको शंकास्पद अवस्थामा झुन्डिएको अवस्थामा शव फेला परेको थियो । उनले आत्महत्या गर्नुअघि रेकर्ड गरिएको भनिएको भिडियोमा तीन जनाको नाम उल्लेख गरेका थिए ।
 
उनी डिप्रेसनको औषधि सेवन गर्ने गरेको उनैले स्वीकार गरेका छन् । भिडियोमा देखिएका केही शंकास्पद प्रमाणहरुले उनको हत्या भएको हुनसक्ने आशंका स्वयं परिवार र आफन्तले गरेका थिए । तर, अनुमानविपरीत मृतकको शव परीक्षणबाट भने आत्महत्या नै भएको रिपोर्ट आएको थियो ।