मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

समाज बहकिँदै गएकोमा मन्त्री ज्ञवालीको चिन्ता

समाज बहकिँदै गएकोमा मन्त्री ज्ञवालीको चिन्ता


काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मुलुकमा गलतैगलत मात्रै भयो राम्रा काम भएकै छैनन् भनेझैँ गरी समाज बहकिँदै जान थालेको भन्दै चिन्ता प्रकट गरेका छन् । 
 
अग्रगति र पश्चगतिको संघर्षको समीश्रण भएकाले सबै खालका रङहरु समाजमा हुने उल्लेख गर्दै उनले राम्रा कामलाई सामान्यीकरण गरेर कतिपय वुद्धिजीवी तथा मिडिया नै बहकिएको आरोप लगाए । 
 
काठमाडौँको मैतीदेवीमा होप फाउन्डेसनद्वारा आयोजित वाङ्मय सताब्दी पुरुष सत्यमोहन जोशीको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले समाजमा विकृति विसङ्गति रहेको स्वीकार गर्दै भएका राम्रा कामलाई पनि बिर्सन नहुनेमा जोड दिए । 
 
उनले भने, “सबै राजनीति खराबैखराब, चिकित्सक रोगीबाट पैसामात्रै धुत्छन्, विद्यार्थी सबै चिट नै चोर्छन्, शिक्षकहरु सबै ठग्छन्, कर्मचारी सबै घुस्याहा नै हुन् जस्तोगरी आम जनरलाइज गरेर समाज अगाडि बढ्दै छ भन्ने कुरालाई ओझेलमा पार्ने कोशिस भइरहेको छ ।” 
 
समाजमा भएका खराबीविरुद्ध लड्ने सामथ्र्य सरकारसँग रहेको दाबी गर्दै मन्त्री ज्ञवालीले भने, “भूकम्प, नाकाबन्दी, चुनावलगायत कयौँ अफ्ठ्यारोलाई पार गर्दै नेपालले सात दशमलव पाँच प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेकामा खुशी हुनुपर्छ । बेल्जियममा संघीयता कार्यान्वयन गर्न ११ वर्ष लागेको स्मरण गर्दै उनले नेपालमा पहिलो वर्षमै कार्यान्वयन हुनु ठूलो उपलब्धि भएको बताए । 
 
युगौँदेखि थोपरिएका समस्या रातारात समाधान नहुने प्रष्ट्याउँदै देशमा परिवर्तनका सकारात्मक संकेत देखिन थालेको दाबी उनको थियो । समाजमा भ्रष्टाचार भए पनि पहिलेजस्तो नभएको उनको दाबी छ । 
“कर्मचारी आएर लौन एकदिन भन्सार जान पाएको छैन, मालपोत जान पाएको होइन भनेर, नेताहरुलाई सधैँभर तनाव हुन्थ्यो तर आज भन्सार र मालपोतमा मलाई पठाइदेऊ भन्ने मान्छे पाउन गाह्रो छ, यसको अर्थ के, त्यहाँका प्वाल बन्द हुन थालेछ ?”, मन्त्री ज्ञवालीले भने । 
 
ठाउँमै निशाना लागेकाले अख्तियारमै बसेका मान्छेले मुख लुकाउँदै राजीनामा दिएर हिँड्नुपर्ने अवस्थाको सिर्जना भएको जानकारी गराउँदै उनले विकृति विरुद्धको लडाइँ सुरु भएको उल्लेख गरे । 
 
अधिकांश समय सरकारको प्रशंसामा खर्चिएका ज्ञवालीले फरक प्रसङ्ग जोड्दै नेपाली समाजको बहुआयामिक सँस्कृतिलाई अगाडि ल्याउन र कर्णालीलाई  चिनाउन वाङ्मय सताब्दी पुरुष सत्यमोहन जोशीले गरेको योगदानको प्रशंसा गरे । 
 
बेइजिङ ओलम्पिकमासमेत उत्कृष्ट १० मा छनोट भएको मुलुकको राष्ट्रगान छनोटको नेतृत्व गर्ने जोशीको योगदानको राज्यले उच्च मूल्याङ्कन गरिरहेको र गरिरहने बताउँदै उनले आज जोशीलाई सम्मान गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो । मुलुकका अन्य गतिविधि पछाडि परेपनि सँस्कृतिका हिसाबले नेपाल अन्य देशको तुलनामा अब्बल रहेको उनको भनाइ थियो ।