मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रविसहित तीन आरोपितलाई फेरि पाँच दिन म्याद थपियो

रविसहित तीन आरोपितलाई फेरि पाँच दिन म्याद थपियो


चितवन । पत्रकार शालिकराम पुडासैनी मृत्यु घटनाका आरोपितहरु पत्रकार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालतले आदेश दिएको छ । 
 
मंगलबार म्याद थपका लागि भएको बहसमा सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माले थप १० दिनको समय माग गरेकोमा जिल्ला अदालत चितवनले पाँच दिनको समय दिएको हो । 
अझै अनुसन्धान प्रक्रिया नसकिएकाले थप समय माग भएअनुसार पाँच दिन पुनः थप भएको जिल्ला सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता प्रकाश थापाले जानकारी दिए । 
 
यसअघि गत साउन ३० गतेबाट लागू हुनेगरी पहिलोपटक पाँच दिनको म्याद थप भएकोमा भदौ २ गते म्याद सकिएपछि हिजो ३ गते पुनः म्याद थपका लागि अदालतमा पेश भएको थियो । 
 
प्र्रतिवादी रवि र युवराजका तर्फबाट पूर्वमहान्यायाधिवक्ता सुशील पन्त, वरिष्ठ अधिवक्ता सुनिल पोखरेल र चितवन अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष चूडामणि सापकोटाले बहस गरेका थिए । 
बहसका क्रममा ती अधिवक्ताहरुले प्रहरीसँग मात्रै भएको भनिएको भिडियो कसरी मिडियामा गयो भनी छानबिनका लागि मागसमेत गरेका छन् । 
 
मंगलबार दिउँसो २ बजेर २० मिनेट जाँदा सुरू भएको म्याद थप बहस ४ बजेर ३० मिनेटमा सकिएको थियो । म्याद थपकै बहसमा एक–एक घन्टा लामो बहस पन्त र पोखरेलले गरेका थिए । 
 
मृतक पुडासैनीको पोस्टमार्टम रिपोर्टमा झुन्डिएर आत्महत्या गरेको उल्लेख छ । उनको आत्महत्या नभई हत्या भनी सर्वत्र बहस भइरहँदा रिपोर्ट भने आत्महत्या नै भनी सार्वजनिक भएको छ । 
 
पोस्टमार्टम रिपोर्टसँगै मृत्युअघि रेकर्ड गरिएको भिडियो फरेन्सिक ल्याब परीक्षणबाट मृतक शालिकरामकै आवाज भएको पनि पुष्टि भएको छ ।