मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दिवंगत भएका आफन्तको स्मरणमा गाईजात्रा मनाइयो

दिवंगत भएका आफन्तको स्मरणमा गाईजात्रा मनाइयो


काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिनदेखि आठ दिन अर्थात् अष्टमीसम्म मनाइने गाईजात्रा पर्व उपत्यकालगायतका शहरमा दिवङ्गत भएका आफन्तको सम्झनामा मनाइएको छ ।
 
गाईजात्राको भोलिपल्ट बौद्धमा र त्यसको पर्सीपल्ट जयवागेश्वरीमा रोपाइँजात्रा मनाउने गरिन्छ । यसैगरी अन्य स्थानमा विभिन्न नामले गाईजात्रा मनाउने गरिन्छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने यो पर्व मल्लकालेखि शुरु भएको हो ।
 
एक वर्षदेखि दिवङ्गत भएका आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी परिक्रमा गराएर दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरी मनाइएको छ । गाईजात्राका अवसरमा उपत्यकाका विभिन्न स्थानमा सांस्कृतिक झाँकी र साज सज्जाका साथ गाईको भेषमा बालबालिकाको ¥याली निकालिएको थियो । यस्तो झाँकी हेर्न सडकको दायाँबायाँ हजारौँ नरनारी भेला भएका थिए ।
 
मृत्यु भएकाको सम्झनामा नगरपरिक्रमा गर्नाले गाईको पुच्छर समाई वैतरणी पार हुन्छ भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु भनी आज्ञा दिएको ऐतिहासिक तथ्य छ ।  
 
यतिले पनि रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप जात्राको प्रचलन चलेको भन्ने जन श्रुति पाइन्छ । यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिले पनि कायमै छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनकता हुन्छ ।
 
भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीत पनि गाइन्छन् । जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमुना, काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् । 
 
आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गरिन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित हुने गरेको छ ।
 
यो पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायतका शहरमा पनि मनाइन्छ । गाईजात्राका अवसरमा उपत्यकामा सार्वजनिक बिदा दिइएको थियो । यसैगरी प्रदेश नं। २ सरकारले पनि सार्वजनिक बिदा दिएको थियो । तस्बिर : रत्न श्रेष्ठ / रासस