काठमाडौँ । माउन्टेन टिभीका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको भिडियो सार्वजनिक भएसँगै आरोप लगाइएका तीनजना पक्राउ परेका छन् ।
पुडासैनीको शव परीक्षणको रिपोर्ट भने अझै आएको छैन । मर्नुअघि रेकर्ड गरिएको वा गराइएको भिडियो फुटेजको डिजिटल फरेन्सिक ल्याबको रिपोर्ट प्रहरीले सार्वजनिक नगर्दै केही अनलाइनले हतारमा भिडियो सार्वजनिक गरेका थिए । तथापि आरोप लगाइएका भनिएका न्यूज २४ टेलिभिजनका प्रस्तोता रवि लामिछाने, सोही टिभीका युवराज कँडेल र ओखलढुंगा खिजीदेम्वा गाउँपालिका ७ घर भई काठमाडौँ बस्दै आएकी रुकु भनिने नर्स अस्मिता कार्कीलाई प्रहरीले प्रक्राउ गरी अनुसन्धान थालेको छ ।
लामिछाने र कँडेललाई न्यूज २४ को कार्यालयबाट र अस्मिता कार्कीलाई कलंकीबाट बिहीबार साँझ नियन्त्रणमा लिइएको काठमाडौँ प्रहरी परिसरका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । उनीहरुलाई परिसरका प्रहरी र जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
चितवन प्रहरीका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले भने हालसम्म कोही व्यक्तिविरुद्ध किटानी जाहेरी नपरेको जनाएका छन् । पुडासैनीका आफन्तले घटना हुनासाथ दिएको सामान्य निवेदन र पुडासैनीले मृत्यु हुनुअघि भिडियोमा नाम लिएका व्यक्तिहरुको आधारमा अनुसन्धान अघि बढाइएको एसपी मल्लले जनाएका छन् ।
मृत्युको कारणबारे यकिन जानकारी नभएकाले हत्या वा आत्महत्या यसै भन्न सकिने अवस्था छैन । यही साउन २० गते चितवनको पोखरा बसपार्कस्थित कंगारु होटलको १०२ नं कोठामा नुवाकोट बेटकोटगढी ३ घर भएका २७ वर्षीय पुडासैनीको खुट्टा टेकेर झुन्डिएको शंकास्पद अवस्थामा शव भेटिएको थियो ।
साउन २२ गते त्रिवि शिक्षण अस्पताल, महाराजगंजमा मृतकको शव पोस्टमार्टमका लागि लगिएकोमा शुक्रबारमात्रै रिपोर्ट आउने प्रहरीले जनाएको छ । पक्राउ गरिएका तीन जनालाई पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
लामो समयसम्म न्यूज २४ को सिधा कुरा जनतासँग कार्यक्रमको टिममा रहेर काम गरेका पत्रकार पुडासैनीले सो टिम छोडेर माउन्टेन टेलिभिजनमा गएपछि पनि रवि आफ्नो अभिभावक रहेको स्मरण गरेका थिए । भिडियो सार्वजनिक भएसँगै आफ्ना पूर्वसहकर्मीले आत्महत्या गर्न बाध्य पारेको आरोप लगाएपछि पत्रकार लामिछानेले उक्त घटनाको छानबिनमा सघाउने प्रतिबद्धता जनाउँदै आएका छन् ।
उनले आरोप लगाउने शालिकरामलाई भ्रम परेको बताउँदै आरोप लगाउने मरेर गए पनि आरोप खेप्ने आफू जिउँदै रहेको र एउटै आरोप प्रमाणित भए हदैसम्मको सजाय भोग्न तयार रहेको बताएका छन् । उनले फेसबुक लाइभमा पनि पुडासैनीसँग आफ्नो कुनै कुरा नभएको जनाएका छन् । प्रहरीले आवश्यक परेका बेला बोलावट भए आफू जुनसुकै बेला उपस्थित भएर अनुसन्धानमा सहयोग गर्ने उनले बताएका थिए ।
प्रतिक्रिया