काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा मुख्य विपक्षी दल नेपाली कांग्रेस र सत्तापक्ष नेकपाका सांसद्हरू बीच जुहारी चलेको छ । प्रतिनिधिसभा बैठकमा विपक्षी कांग्रेसका सांसद्हरू देवेन्द्रराज कँडेल र मीनबहादुर विश्वकर्मासँग नेकपाका सचेतक शान्ता चौधरीको जुहारी चलेको हो ।
कांग्रेस सांसद् कँडेलले संसदको विशेष समयमा बोल्दै निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणका दोषीलाई सत्तारुढ दलका नेताहरूले संरक्षण गरेको आरोप लगाएपछि नेकपा सचेतक चौधरीले आपत्ति जनाउँदै बोलीको रेकर्ड मेटाउन माग गरिन् । कँडेल बोलेर बस्न नपाउँदै चौधरीले आपत्ति जनाएपछि कांग्रेस सांसद् विश्वकर्माले संसद् बैठक मर्यादित बनाउन सभामुख कृष्णबहादुर महराको ध्यानाकर्षण गराए ।
कांग्रेसका कँडेलले गृहमन्त्री रामबहादुर थापाले केही दिनअघि ‘निर्मला हत्या प्रकरण जस्ता घटना यसअघि पनि थिए, आज पनि छन् र भोलि पनि हुन्छन्’ भन्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाएका थिए । उनले गृहमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गरेका थिए ।
गृहमन्त्री थापाको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले भने, ‘यदि गृहमन्त्रीको यही ठहर हो भने तपाईंको घर परिवारमा यस्तो भएको भए यही भन्नुहुन्थ्यो रु त्यसैले गृहमन्त्रीले अभिव्यक्ति फिर्ता लिनुपर्छ भन्ने मेरो माग छ ।’
सांसद कँडेलले निर्मला पन्तको हत्या सिंहदरबारभित्रैका जनप्रतिनिधिबाट भएको आरोप लगाए । उनले पञ्चायतकालको नमिता–सुनिता हत्याकाण्डमा दरबार जोडिएजस्तै निर्मलाको बलात्कार र हत्या प्रकरणमा सिंहदरबार जोडिएको आरोप लगाएका थिए ।
चर्चित ‘नमिता–सुनिता’ काण्डको चर्चा गर्दै उनले भने, ‘हिजो श्रीपेचका आडमा दरबारमा पहुँच भएकाहरूबाट पोखरामा हिजो बलात्कार र हत्या गरियो भने आज बिना श्रीपेचका सिंहदरबारका जनप्रतिनिधिबाट यो घटना घटेको मैले महसुस गरेको छु ।’
निर्मला हत्या प्रकरणमा सिंहदरबार जोडिएको भन्ने कांग्रेस सांसद् कँडेलको अभिव्यक्तिप्रति सत्तारुढ नेकपाकी सांसद् चौधरीले आपत्ति जनाउँदै अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरिन् । ‘माननीयज्यूले सिंहदरबारबाट घटाइएको घटना भनेर त्यस्तरी पनि बोल्न मिल्छ रु बोल्न मिल्ने नमिल्ने जे पनि बोल्न मिल्छ यत्तिको मान्छेले रु रेकर्डबाट हटाउनुपर्छ सभामुख महोदय,’ कँडेल बोली नसक्दै आशनबाट उभिएकी सचेतक चौधरीले भनिन् ।
चौधरी बोल्दै गर्दा कांग्रेस सांसद् विश्वकर्मा पनि आसनबाट उठेर बोल्ने अनुमति मागे । सभामुखले बोल्ने अनुमति दिए । विश्वकर्माले ‘संसदमा एक माननीय सदस्यले बोलिराखेको बेला’ भन्दै गर्दा माइक काटियो । लगत्तै सभामुख महराले भने, ‘नियमापत्ति हो ।’
नेकपा सचेतक चौधरीको नियमापत्ति भएको सभामुख महराको आशय प्रष्टै झल्किन्थ्यो । तर, चौधरीले बोल्नुअघि नियमापत्ति गरेकी थिइनन् । उनले नियम उद्धृत नगरी कँडेलको अभव्यक्ति रेकर्डबाट मेटाउन माग गरेकी थिइन् । कांग्रेस सांसद् विश्वकर्माको आपत्तिपछि सभामुखले चौधरीले नियमापत्ति गरेको भन्दै उनको बचाउ गरेका थिए ।
सभामुखको जवाफलगत्तै कांग्रेस सांसद् विश्वकर्मा फेरि भने, ‘चौधरीले नियमापत्ति भन्नुभएको छैन, जवाफ दिनुभएको छ । एक सदस्यले बोलेकोमा अर्को सदस्यले जवाफ दिएर जुहारी गराउन मिल्दैन ।’
सभामुख महराले नेकपा सांसद् चौधरीको माग बमोजिम संसद् सचिवालयलाई कांग्रेस सांसद कँडेल बोलेको रेकर्ड मेटाउन आदेश भने दिएनन् । उनले यस विषयमा ध्यानाकर्षण भएको बताउँदै पछि निर्णय गर्ने जानकारी गराए । सभामुख महराले भने, ‘माननीय सदस्य (चौधरी)ले बोलेको विषयमा मेरो ध्यानाकर्षण भएको छ, यसलाई के गर्ने भन्ने म निर्णय गर्छु ।’
प्रतिक्रिया