मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जनप्रतिनिधिलाई दम्भ त्याग्न आग्रह

जनप्रतिनिधिलाई दम्भ त्याग्न आग्रह


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता महेश बस्नेतले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई दम्भ त्यागेर विकासमा एकजुट हुन आग्रह गरेका छन् । 
 
जिल्ला समन्वय समितिले आयोजना गरेको दुईदिने जिल्लास्थित सरकारी कार्यालय तथा गैरसरकारी संस्थाको वार्षिक समीक्षा गोष्ठीमा उनले संविधानले व्यवस्था गरेको नीतिलाई मान्दिन भन्ने र जिल्ला समन्वय समितिलाई स्वीकार्दिन भन्दै विकासमा समन्वय नगर्ने जनप्रतिनिधिले दम्भ त्याग्नुपर्ने आवश्यकता औँल्याए । 
 
सांसदसमेत रहेका बस्नेतले भने, “संविधानले गरेको व्यवस्थालाई स्वीकार्दिन भन्ने, आफूलाई सधैँका लागि जनप्रतिनिधि भएको जस्तो दम्भ नगर्नुस्, यो पद पाँच वर्षका लागि हो, पाँच वर्षपछि चप्पल पड्काउने कि ? पालिसले छाला जुत्ता टल्काउने ? त्यो तपाईंको आफ्नै हातमा छ ।” 
 
उनले स्थानीय विकास आफ्नै लागि भएकाले विकासमा साझेदारी समन्वय र सिर्जनशील भएर लाग्न आग्रह गरे । 
 
पूर्वउद्योगमन्त्रीसमेत रहेका उनले स्थानीय तहमा जनप्रतिनिधिले स्थानीय अभ्यासलाई आधार बनाएर राष्ट्रिय नीति परिवर्तन गर्नेसम्मका लागि नीतिगत परिवर्तन गर्ने गरी काम गर्नुपर्ने सुझाव दिए । स्थानीय तहको विकासमा उपयुक्त विधि र नीति आफैँ बनाएर स्थानीय तह अघि बढ्न तथा समृद्ध भक्तपुर बनाउन सबै जनप्रतिनिधि एवं  कर्मचारीले लाग्नुपर्ने बताए ।
 
प्रदेशसभा सदस्य शशीजङ्ग थापाले भक्तपुर नगरपालिका र मध्यपुरथिमि नगरपालिकाले जिससको समीक्षा गोष्ठीमा भाग नलिएर राम्रो नगरेको बताए । उनले भने, “समीक्षा गोष्ठीमा नआउने स्थानीय तहले कि तर सरकार र संविधानलाई टेरेनन्, कि त कामै गरेनन् भन्ने बुझ्नुपर्छ, यस्तो अवस्था किन सिर्जना हुन्छ ।”
 
जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रलगायतले स्थानीय तहको विकासका अवधारणाका बारेमा चर्चा गरेका थिए । समीक्षा गोष्ठीमा जिल्लामा रहेका स्थानीय तह, सरकारी कार्यालय, गैरसरकारी संस्थाले आव २०७५/७६ मा गरेका काम र आम्दानी तथा खर्चको विवरण पेश गरेका थिए ।