मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शिक्षित युवा नै बेरोजगार : प्रमुख सचेतक गुरुङ

शिक्षित युवा नै बेरोजगार : प्रमुख सचेतक गुरुङ


लमजुङ । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले शिक्षित युवा नै बेरोजगार बन्दै गएकाप्रति चिन्ता प्रकट गरेका छन् । 
 
बेंसीशहरमा युवा समितिद्वारा आयोजित २०औँ अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा शिक्षामा रुपान्तरण, उद्यमशीलता र नवप्रवर्तन विषयक प्रेरणामूलक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा उत्पादनमुखी नभएकाले बेरोजगार हुँदा हजारौँ, लाखौँ युवा विदेशिन बाध्य भएका बताए । 
 
उनले भने, “उद्योगबिना देशको समृद्धि छैन, यदि मुलुकमा उद्योग प्रशस्त खुलेमा युवाले स्वदेशमा रोजगार पाउने र वैदेशिक रोजगारदेखि संस्कार र संस्कृतिको विकृति बढाउँदै गएका युवालेसमेत रोजगारी प्राप्त गरी देश समृद्र्धतर्फ अघि बढाउन मद्दत पुग्छ ।” 
 
आगामी दिनमा शिक्षामा नैतिक, उत्पादनमुखी, श्रममुखी र उद्योगमुखी शिक्षाको उनले आवश्यकता औँल्याए ।
 
जिल्ला समन्वय समितिका अध्यक्ष लोकराज पाण्डेले युवालाई स्वदेशमै रोजगारीको सिर्जना गर्दै बेरोजगार र वैदेशिक रोजगारीमा जानेलाई रोक्न बेलैमा सबै सचेत हुनुपर्ने बताए । 
 
नगरपालिकाका उपप्रमुख लक्ष्मी अधिकारी, नेपाली कांग्रेसका जिल्ला सभापति भेषबहादुर पौडेल, नेपाल उद्योग व्यवसायी महासंघ गण्डकी प्रदेशका सदस्य रामकुमार श्रेष्ठ, नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष कृष्णबहादुर आले, बेंसीशहर नगर युवा सञ्जालका अध्यक्ष निश्चल पाण्डे लगायतले सरकारले युवाको चाहना र आवश्यकताअनुरुप युवाको क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिएका थिए ।