मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मापसे गर्ने चालकको धमाधम लाइसेन्समा प्वाल

मापसे गर्ने चालकको धमाधम लाइसेन्समा प्वाल


हेटौँडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष ०७५/७६ मा मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एकसय ४५ चालकको सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० मा प्वाल पारेको छ । कारवाहीस्वरूप लाइसेन्स प्वालसँगै प्रतिचालक रु एक हजार जरिवानासमेत असूली गरेर सवारी चालक अनुमतिपत्र प्वाल पारेको हो ।
 
त्यसैगरी लाइसेन्स नभएका ५९ चालकबाट प्रतिचालक रु दुई हजारका दरले जरिवाना उठाइनुका साथै स्मार्ट लाइसेन्स भएकालाई अभिलेख बनाउन सम्बन्धित यातायात व्यवस्था विभागमा पठाइएको ट्राफिक प्रहरीले जनाएको छ । मापसे गर्ने चालकबाट जरिवानास्वरुप गतवर्ष रु एक लाख ५६ हजार ८०० संकलन भएको ट्राफिक प्रहरी काशी थापाले बताए । 
 
अघिल्लो आर्थिक वर्ष ०७४/७५ मा मापसे गरी सवारी चलाएका ५५६ चालकको अनुमतिपत्रमा प्वाल पारिएको थियो । त्यस्तैगरी ५६ जना लाइसेन्स नभएकालाई दोब्बर दस्तुर जरिवाना गरी कारबाही गरिएको थापाले बताए । सो वर्ष चालक अनुमतिपत्र भएका चालकबाट प्रतिचालक रु एक हजार र नभएकाबाट प्रति चालक दुई हजारका दरले रु छ लाख ६८ हजार राजश्व संकलन गरिएको थियो ।
 
त्यस्तै आर्थिक वर्ष ०७३/७४ मा ४३८ चालकको लाइसेन्समा प्वाल पारिएको थियो । मापसे सेवन गरी सवारी चलाउने चालकको सवारी अनुमति पत्रमा प्वाल पार्नुका साथै रु चार लाख ३८ हजार राजश्वसमेत संकलन गरिएको थियो ।
 
वार्षिक तथ्यांकको विश्वलेषण गर्दा मापसे सेवन गरी सवारी चलाउने चालकको संख्यामा पछिल्ला वर्षहरुमा कमी हुँदै आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरिविष्णु ढकालले ट्राफिक प्रहरीले कडाइका साथ मापसे जाँच गरिरहेको जानकारी दिए । उनले पछिल्लो समय चालक सचेत भएकाले कारबाहीमा पर्नेको संख्या घटेको बताए ।
 
चालक आफ्नो स्वास्थ्यलाई लिएर सचेत भएको र मापसे सेवन गर्ने समय पनि परिवर्तन गरेको हुनसक्ने उनको तर्क छ । सवारी नियम, २०४९ को दफा ४२ अनुसार मापसे गरेर सवारी चलाउनेलाई कारवाहीस्वरूप लाइसेन्स प्वाल पार्न सकिने व्यवस्था छ । पाँच पटकसम्म मापसे गरी कारबाहीमा परेर अनुमतिपत्र प्वाल भए अनुमतिपत्र नै खारेज हुने व्यवस्था छ ।