मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सुन्दरीजलबाट पशुपतिमा लाखौँ बोलबम यात्री

सुन्दरीजलबाट पशुपतिमा लाखौँ बोलबम यात्री


काठमाडौँं । साउनको तेस्रो सोमबार बिहानैदेखि वाग्मतीको शिरो भाग सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको भीड लागेको छ ।
 
बोलबम काँवरिया संघको आयोजनामा शुद्ध जल लिन लाखौँ भक्तजन आइतबार बेलुकी नै सुन्दरीजल आइपुगेका थिए । संघले आइतबार रातिदेखि नै सुन्दरीजलमा भजन कीर्तनसहित विशेष कार्यक्रमको आयोजना गरेको थियो । 
 
कार्यक्रममा पूर्वउपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले धार्मिक, सांस्कृतिक, प्राकृतिक र राजनीतिक दृष्टिले महत्वपूर्ण सुन्दरीजल क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गरिनुपर्नेमा जोड दिए । 
 
“मानव कल्याणका लागि अन्यायका विरुद्ध शिवपुरीको यो क्षेत्रमा शिव पार्वतीले ध्यान तपस्या गरेजस्तै पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला, नेता गणेशमान सिंह, महेन्द्रनारायण निधिले यहीँको जेलमा बसेर जनअधिकारका लागि काम गरे, यसले पनि यो स्थानलाई थप पवित्र बनाएको छ”, उनले भने ।
 
यस्तो पवित्रस्थलमा आउने जीर्ण सडकमा सरकारको आँखा पुग्न नसकेको उल्लेख गर्दै नेपाली कांग्रेसको उपसभापतिसमेत रहेका नेता निधिले भगवान् शिवको त्रिनेत्रले सरकारको आँखा खोलोस् भनी कामना गरे । 
 
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले सुन्दरीजलबाट शुद्ध जल लिई बोलबम यात्रा गरेर पशुपतिनाथ मन्दिरमा चढाउन चाहने भक्तजनका लागि विशेष व्यवस्था गरिएको बताए । बोलबम यात्रीलाई पशुपति मूल मन्दिरमा प्रवेश गरी जल चढाउन बेग्लै लामको व्यवस्था गरिएको पनि उनले जानकारी दिए । 
 
गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले चालू आर्थिक वर्षमा सुन्दरीजलमा बोलबम धाम निर्माण गर्न रु एक करोड बजेट विनियोजन गरिएको जानकारी दिए । धामका लागि ४६ रोपनी जग्गाको व्यवस्थासमेत नगरपालिकाले गरिदिएको उनको भनाइ थियो ।