मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मनसुन पुनःसक्रिय भारी वर्षाको सम्भावना

मनसुन पुनःसक्रिय भारी वर्षाको सम्भावना


काठमाडौँ । केही दिनदेखि कमजोर रहेको मनसुन सोमबारदेखि पुनःसक्रिय भएको छ । मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतिर (नेपालतर्फ) सरेकाले भारी वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेले बताए । 
 
“एक सातादेखि कमजोर रहेको मनसुन आजदेखि केही सक्रिय भएको हो ।” अबको तीन– चार दिन बिहान तथा बेलुकापख वर्षा हुने र दिउँसो घाम लाग्ने क्रम चलिरहने छ, उनले भने । 
 
हाल देशभर सामान्य तथा पूर्ण बदली हुनाका साथै तराईका धेरैजसो स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा १० मिलिमिटर वर्षा भएको छ भने पोखरामा ५४, दाङमा ३२, सिमरामा ६७, नेपालगञ्जमा २७, धनगढीमा ४२ र दिपालयमा २६ मिलिमिटर वर्षा मापन गरिएको छ । 
 
राति देशभर सामान्य बदली रही देशको पश्चिमी भागका केही स्थानमा तथा मध्य र पूर्वका एक– दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । भोलि देशभर सामान्य तथा पूर्ण बदली हुनाका साथै मध्य र पश्चिमी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  
 
त्यस्तै, बुधबार देशभर सामान्यदेखि पूर्ण बदली हुनाका साथै केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको र पूर्व र मध्य क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको  छ ।  
 
यसैगरी महाशाखाले आगामी २४ घन्टाको मौसम पूर्वानुमान जारी गर्दै देशको केही स्थानमा मेघगर्जन÷चटयाङ पर्ने सम्भावना रहनाका साथै पूर्व र पश्चिमी तराई तथा पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।