मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एकै परिवारका सात जनामा डेँगुको संक्रमण

एकै परिवारका सात जनामा डेँगुको संक्रमण


इनरुवा । सुनसरी सदरमुकाम इनरुवा– ४ का एकै परिवारका सात जनामा डेँगुको संक्रमण भेटिएको छ । केही साताअघि देखापरेको डेँगु नियन्त्रणमा आएको बताइए पनि  पछिल्लो पटक स्थानीय एक परिवारका सात जनामा डेँगुको संक्रमण फेला परेको इनरुवा नगरपालिकाले जनाएको छ । 
 
वडा नं ४ मा निवासी सन्तोष गुप्ताको परिवारमा सातै जनामा सो रोग फेला परेको अस्पतालले जनाएको छ । योसँगै इनरुवामा ११ डेँगु संक्रमित बिरामी फेला परेको उक्त नगरपालिकाले पुष्टि गरेको छ । डेँगु संक्रमितको संख्या बढ्दो क्रममा रहेको पाइएको इनरुवा अस्पताल आकस्मिक कक्षले जनाएको छ । 
 
नमूना परीक्षणका क्रममा २० जनाभन्दा बढीमा डेँगुको संक्रमित फेला परिसकेको आकस्मिक कक्षमा कार्यरत वरिष्ठ अहेब गुणानन्द झाले बताए । ज्वरो आएर उपचारका लागि अस्पताल आउने बिरामीको संख्यामा वृद्धि भएको भएकाले उक्त रोगको संक्रमितको संख्या बढ्नसक्ने स्वास्थ्यकर्मीको अनुमान छ । 
 
नगर क्षेत्रभित्र एकसाथ डेँगुका बिरामी फेला परेपछि नगरपालिकाको आपत्कालीन बैठकले शिक्षा शाखा प्रमुख डिल्ली निरौलाको संयोजकत्वमा डेँगु नियन्त्रण तथा प्रचारप्रसार समितिसमेत गठन गरेकोे छ । 
 
संयोजक निरौलाका अनुसार इनरुवा– ४ मा सात, वडा नं ५ मा चार र वडा नं ३ मा एक  जनामा उक्त संक्रमण देखिएकोे हो । 
 
जीवाणुका कारण संक्रमण फैलने भएकाले बैठकको निर्णयअनुसार नियन्त्रणका उपाय अवलम्बन गर्नाका साथै जनचेतना फैलाउन समितिले तत्कालै काम थालिने उनले जानकारी दिए  । 
 
इनरुवा अस्पतालमा स्वास्थ्यकर्मी चौबिसै घण्टा रहने गरी ‘हेल्प डेस्क’ राख्ने तयारीसमेत थालिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले वडामा विषादी छिट्ने कामसमेत सुरु गरिसकेको छ । वडातहसम्म जनचेतना फैलाउनका लागि अभियान थालिसकिएको नगरप्रमुख राजन मेहताले बताए । 
 
विद्यार्थी, शिक्षक हुँदै अभिभावकसहित स्थानीय संघसंस्थालाई डेँगु नियन्त्रण र सचेतना अभियानमा सक्रिय सहभागिताका लागि आह्वानसमेत गरिएको उनको भनाइ थियो । रासस