मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चुनौतीपूर्ण बन्दै साइबर अपराध, ब्यूरोमा एक हजार ४९८ उजुरी

चुनौतीपूर्ण बन्दै साइबर अपराध, ब्यूरोमा एक हजार ४९८ उजुरी


चितवन । पछिल्लो समय साइबर अपराध अनुसन्धान चुनौतीपूर्ण बन्दै गएको सरोकारवालाले बताएका छन् । 
 
प्रहरी प्रधान कार्यालय भोटाहिटीस्थित साइबर ब्युरोद्वारा आयोजित महिला तथा बालबालिका विरुद्ध हुने ‘साइवर अपराध सचेतनामूलक कार्यक्रम’मा सहभागी बक्ताहरूले यस्तो बताएका हुन् । 
 
अहिले विभिन्न सामाजिक सञ्जालबाट हुने गरेका अपराधको निशाना महिला तथा बालबालिका केन्द्रित हुने गरेको सो अवसरमा जानकारी दिइएको थियो । महिला तथा बालबालिकालाई अपराधमा सामेल गर्न सजिलो हुने भएकाले अपराधीले उनीहरूलाई रोज्ने गरेको ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक नवीन्द्र अर्यालले जानकारी दिए । 
 
उक्त विषयमा कार्यपत्र प्रस्तोता उनले ब्यूरोमा एक हजार ४९८  सामाजिक सञ्जाल (फेसबुक) बाट गरिएका अपराधका सम्बन्धमा उजुरी परेको बताए । उजुरी परेसँगै अनुसन्धानका कठिनाइँ भए पनि कतिपयमा उजरीमा सफलतासमेत मिलेको उनको भनाइ थियो । 
 
प्राय कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई सामाजिक सञ्जाल प्रयोग गरी सहजरूपमा फसाउने गरेको उनले बताए । सामाजिक सञ्जालमार्फत चरित्र हत्या, ठगी, बेचबेखिन, फिरौती, धम्की, तस्करीलगायत अपराध हुने गरेको अर्यालले जानकारी दिए । 
 
अहिले नेपालमा ६३ प्रतिशत जनता इन्टरनेटको पहुँचमा रहेको र तीमध्ये ९८ प्रतिशतले मोबाइलको प्रयोग गर्ने गरेको कार्यक्रममा जानकारी दिइएको थियो । सामाजिक सञ्जालको सही सदुपयोग गर्न नजान्दा आपराधिक क्रियाकलाप बढ्दै गएको पनि उहाँले जानकारी दिए । 
 
हेटौँडास्थित प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतले साइबर अपराध प्रहरीका लागि चुनौतीपूर्ण बन्दै गएको बताए । 
 
सो अवसरमा सामुदायिक सेवा केन्द्र नारायणगढकी अध्यक्ष मिना खरेलले प्रविधिको सही सदुपयोग गर्न नजान्दा समस्या बढ्दै गएको बताए । 
 
चितवन जिल्ला प्रहरी काार्यलयका प्रहरी उपरीक्षक दानबहादुर मल्लले समाजमा रहेका अपराधी पहिचान गरेर अपराध न्यूनीकरणका लागि नागरिक र प्रहरीबीच हातेमालो गर्नु जरुरी रहेको बताए ।