काठमाडौँ । भनिन्छ- धनको मुख कालो हुन्छ । तर, सबै मानिस बेइमान हुँदैनन् । मेहनत गरे धन कमाउन सकिन्छ तर लोभ गरे इज्जत, प्रतिष्ठा क्षणभरमै गुम्न पनि सक्छ ।
आज काठमाडौँ उपत्यकामा सञ्चालित ट्याक्सीमा छुटेको रु दुई लाख पचास हजार रकम सम्बन्धित धनीलाई बुझाएर एक ट्याक्सी चालकले इमानदार चालकको परिचय बनाए ।
उपत्यकामा सञ्चालित बा२ज ४१५५ नंको ट्याक्सी चालक सिन्धुली सुनकोशी घर भई हाल ललितपुर बस्ने २७ वर्षीय कुलबहादुर श्रेष्ठले रुकुम सिस्नेका २६ वर्षीय विवेक खड्काको ट्याक्सीमा छोडिएको रकम महानगरीय ट्राफिक महाशाखामा आएर सम्बन्धित धनीलाई फिर्ता गरेका छन् ।
खड्का आज बिहान सुन्धाराको सिभिल मलदेखि न्युरोड जाने क्रममा ट्याक्सीमा रकम छोडेर हिँडेपछि चालक आफँै पैसा फिर्ता गर्न महाशाखा आएका थिए ।
चालकले दिएको रकम महाशाखाका प्रहरी उपरीक्षक रवीकुमार पौडेलले धनी खड्कालाई हस्तान्तरण गरे । खड्काले चालक श्रेष्ठप्रति आभार व्यक्त गर्दै यस्तै असल मानिस देशलाई खाँचो रहेको बताए ।
प्रतिक्रिया