मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

योगेश भट्टराईको राजनीतिक यात्रा : ‘स्ववियु सभापतिदेखि मन्त्रीसम्म…’

योगेश भट्टराईको राजनीतिक यात्रा : ‘स्ववियु सभापतिदेखि मन्त्रीसम्म…’


विसं २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा ताप्लेजुङमा भएको चुनावीसभालाई सम्बोधन गर्दै तत्कालीन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘योगेशलाई जिताएर पठाउनुहोस्, म मन्त्री बनाउँछु’ भनेका थिए । 
 
निर्वाचनका क्रममा भट्टराई अत्यधिक मतका साथ विजयी भए । प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धनले झण्डै दुई तिहाइ मत प्राप्त ग¥यो । लगत्तै अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मन्त्रिमण्डल गठन भयो । 
 
सो मन्त्रिमण्डलमा भट्टराई समेटिएनन् । वाचाअनुसारको प्रतिबद्धता पूरा नभएको भन्दै कहिलेकाहीँ आलोचना पनि हुने गरेको थियो । अहिले आएर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको भनाइअनुसार भट्टराई मन्त्री बनेका छन् । 
 
प्रधानमन्त्री ओलीले आजै भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नियुक्त गरेका छन् । आमा महेन्द्रादेवी र बुबा स्व भीमलालका कान्छा छोराका रूपमा मध्यमवर्गीय परिवारमा उनको जन्म भएको थियो । उनी दुुई वर्षको छँदा नै बुबा बितेका थिए । 
 
मैवाखोला गाउँपालिकास्थित नारायणी निमाविमा कक्षा ७ सम्मको पढाइ सकेपछि उनले सङ्खुवासभाको मादी माविबाट एसएलसी उत्तीर्ण गरे । विसं २०३६ को विद्यार्थी आन्दोलनको रापताप विस्तारै गाउँसम्म फैलिँदै थियो ।
 
पञ्चायती व्यवस्थाविरुद्ध गाउँगाउँबाट उठ्नुपर्ने सन्देश मादीसम्म त्यतिबेला पुगिसकेको थियो । पञ्चायती व्यवस्थाविरुद्ध २०३७ चैत १४ मा पहिलोपटक अनेरास्ववियुले आयोजना गरेको अमहड्तालमा सक्रिय उनी संगठित हिसाबले राजनीतिक यात्रा आरम्भ गरे । 
 
एसएलसीपछि उच्च शिक्षाका लागि विसं २०४० मा मन्त्री भट्टराई राजधानीको ताहाचलस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा भर्ना भए । पञ्चायती व्यवस्था विरोधी आन्दोलनका क्रममा (विषाक्त दूधका विरुद्धको आन्दोलन) १८ वर्षको उमेरमा नै उनी पहिलोपटक काठमाडौँको केन्द्रीय कारागारमा थुनिएका थिए । विसं २०४१ मा महेन्द्ररत्न क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उपसभापति र विसं २०४३ मा सभापतिमा विजयी भए । 
 
पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्ध दृढतापूर्वक अघि बढ्दै जाँदा उहाँले थुप्रैपटक जेलनेल र कठोर यातनासमेत भोगेका थिउ । जेल बसाइँका बेला झापा सङ्घर्षका चर्चित अगुवा हालका प्रधानमन्त्री ओली, आरके मैनाली, मोहनचन्द्र अधिकारीलगायत राजनीतिक बन्दीसँग संगत गर्ने मौका पाए । 
 
मन्त्री भट्टराईले अनेरास्ववियुको काठमाडौँ जिल्ला कमिटीको सदस्य तथा वाग्मती अञ्चल कमिटीको सचिवको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरे । उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र÷मानवशास्त्रमा स्नातकोत्तर गरे ।
 
उनी विसं २०४६ को जनआन्दोलनमा सक्रियरूपमा सहभागी भए । विसं २०४६ देखि अनेरास्ववियूको केन्द्रीय कमिटीमा काम गरेकाउनी सङ्गठनको कार्यालय सचिव, प्रचार विभाग प्रमुख, सचिव र महासचिव हुँदै २०५१ देखि विसं २०५६ सम्म अध्यक्ष भए । 
 
उनी नेपाली राष्ट्रियताको पक्षमा सङ्गठित ढङ्गले आवाज बुलन्द गर्ने एक देशभक्त तथा राष्ट्रवादी नेताका रूपमा परिचित छन् । उनकै नेतृत्वमा भारतले कब्जा गरेको नेपाली भूमि कालापानी फिर्ता गर्न विसं २०५५ जेठमा काठमाडौँदेखि दार्चुलाको कालापानीसम्म काठमाडौँ–कालापानी मार्च अभियान सञ्चालन भएको थियो । 
 
त्यस्तै उनले विसं २०४५ मा भारतले नेपालमाथि गरेको नाकाबन्दीविरुद्ध विद्यार्थी नेताका रूपमा आन्दोलनको अगुवाइसमेत गरे । मन्त्री भट्टराईले विसं २०६२÷६३ मा सम्पन्न ऐतिहासिक जनक्रान्तिमा नेकपा (एमाले)को काठमाडौँ उपत्यका कमिटीको सचिवका रूपमा आन्दोलनको संयोजन र परिचालनमा कमान्डरको भूमिका निर्वाह गरे । 
 
विसं २०३९ देखि तत्कालीन नेकपा (माले)सँग राजनीतिक सम्पर्कमा रहेर पार्टी काममा संलग्न रहेका उनी पार्टीको सेल कमिटी हुँदै जिल्ला, अञ्चल र केन्द्रीय कमिटी हुँदै विसं २०६५ फागुनमा बुटवलमा सम्पन्न तत्कालीन नेकपा (एमाले)को आठौँ महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका थियो । पार्टीको नवौँ महाधिवेशनबाट सचिवमा निर्वाचित भएन । 
 
तत्कालीन एमालेको प्रचार विभाग प्रमुख रहेका उनी अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य हुन् । उनले विसं २०५१ मा ताप्लेजुङ ढुङ्गेसाँघु निवासी बिन्दा घिमिरेसँग विवाह गरे । ताप्लेजुङको समग्र विकासका निम्ति उनकै सक्रियता र अगुवाइमा विसं २०६४ मा ‘ताप्लेजुङ सरोकार केन्द्र’को स्थापना भएको थियो । उनी त्यसका संस्थापक महासचिव थिए । रासस