मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

उपत्यका ब्यूरो इन्चार्जसहित कार्यकर्ता पक्राउको विरोधमा विप्लवको बन्द आह्वान्

उपत्यका ब्यूरो इन्चार्जसहित कार्यकर्ता पक्राउको विरोधमा विप्लवको बन्द आह्वान्


काठमाडौँ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउको विरोधमा उक्त पार्टीले भोलि बुधबार नेपाल बन्दको आव्हान गरेको छ ।
 
नेकपाले यही साउन १५ गते वाग्मती, नारायणी ब्यूरोसहित जनकपुर ब्युरोअन्तर्गतका जिल्लामा बन्दको आव्हान गरेको जनाएको छ । विद्रोही नेकपाले लामा सहितसम्पूर्ण नेता कार्यकर्ताको बिनासर्त रिहाइको मागसमेत गरेको छ ।
 
नेकपा प्रवक्ता प्रकाण्डले विज्ञप्तिमा भनेका छन्, ‘साउन ४ गते राति सुतिरहेको समयमा काठमाडौं, काँडाघारीबाट नेपाल कम्युनिस्ट पार्टीका उपत्यका व्युरो इन्चार्ज तथा सांस्कृतिक मोर्चाका इन्चार्ज माइला लामा ‘प्रज्वल’लाई राष्ट्रघाती , हत्यारो प्रहरीभित्रको बदनाम गिरोहले गिरफ्तार गरेको छ । यसले आफ्नै काठमाडौं अदालत समक्ष गिरफ्तारीको औचित्य पुष्टि गर्न र प्रमाण पेश गर्न पनि सकेन । त्यसपछि नाङ्गो झुठ र नक्कली बहानामा जेल चलान गर्यो । ओली–बादल मण्डलीको यसप्रकारको इतिहासकै तानाशाहहरुको हर्कत माथ गर्ने निरंकुश र आततायी गिरफ्तारी एवं दमनको पार्टी निन्दा र घोर भत्सर्ना  गर्दछ र माइला लामाको रिहाइको माग गर्दछ ।’
 
‘२०६२र०६३ सालमा भएको शान्तिवार्ताको नाममा प्रचण्ड–बाबुरामको बेइमानी र पलायन, संसदवादीहरुको यथास्थितिवादी चिन्तन र विदेशी शक्ति केन्द्रको हस्तक्षेपमा देश र जनतामाथि प्रतिक्रान्ति लादियो । त्यसको विरुद्ध हाम्रो पार्टीले लगातार संघर्ष गर्दै आएको छ । देश राजनीतिक संकटतिर झन्झन् फस्दै गएको छ । हाम्रो पार्टीमाथिको प्रतिबन्धले ओली सरकार राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपले नाङ्गिएको र संकटमा परेको छ । त्यही संकटमाथि पर्दा हाल्न वार्ताको हल्ला गरेको छ । सरकारको वार्ताको हल्लाभित्र पार्टी र जनक्रान्ति दमन गर्ने भयानक षड्यन्त्र बाहेक अरु केही छैन । त्यसकारण दमन, षड्यन्त्र र हत्या बन्द गर्न चेतावनीसहित निम्न संघर्षका कार्यक्रम घोषणा गर्दछ ।’
 
जनकलाकार एवं उपत्यका ब्यूरो इन्चार्ज लामालाई यही साउन ४ गते काँडाघारीस्थित एउटा घरमा सुतिरहेको अवस्थामा प्रहरीले मध्यराति घेरा हालेर पक्राउ गरेको थियो । एनसेलमा बम बिष्फोटलगायतका मुद्दामा लामा नख्खु कारागार चलान भएका छन् ।
 
यसैबीच, मंगलबार काठमाडौंको बुढानिलकण्ठबाट विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका काठमाडौं जिल्ला इन्चार्जसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । 
 
उनीहरुलाई बुढानिलकण्ठबाट मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा विप्लव समूहका काठमाडौं जिल्ला इन्चार्ज धीरेन्द्र उपाध्याय भृकुटी, युवा संघका जिल्ला इन्चार्ज कुबेर घिमिरे र प्रेम तामाङ छन् । 
 
पक्राउ परेका तीनै जनालाई महानगरी प्रहरी परिसर काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।