मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेकपा सचिवालय बैठक स्थगित, स्कुल विभागमा कुरा मिलेन

नेकपा सचिवालय बैठक स्थगित, स्कुल विभागमा कुरा मिलेन


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठक पनि बिनानिष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय विभागको कार्यविभाजन गर्न डाँकिएको बैठक बिनानिष्कर्ष सकिएको हो । 
 
मुख्यत स्कुल विभागमा टुङ्ग्यो नलागेपछि बैठक सकिएको हो । माधवकुमार नेपालले अझै गहन गृहकार्य गर्न बाँकी रहेकाले आजको बैठक सकिएको जानकारी दिए । पार्टीको स्कुल विभाग प्रमुखमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र अर्का सचिवालय सदस्य ईश्वर पोखरेलमध्ये कसलाई दिने भन्नेमा विवाद हुँदै आएको छ ।
 
स्कुल विभाग प्रमुखमा भने नेकपाका नेता झलनाथ खनाल, धनश्याम भुसाल, बेदुराम भुसाल र राम कार्की समेतको दाबी छ । प्रवक्ता श्रेष्ठले पार्टीमा रहेका कुनै पनि विभागका बारेमा निर्णय नभएकाले स्कुल विभागको मात्र विवाद नरहेको बताए । “कुनै पनि विभागका बारेमा कुनै निर्णय गरेको छैन, त्यसकारण कुनै एउटा विभागको विवाद छ भन्न मिलेन”, उनले भने । 
 
उनका अनुसार अर्को बैठक यही साउन २८ गते दिउँसो तीन बजेका लागि बोलाइएको छ । बैठकमा पार्टीका सबै केन्द्रीय निकायको एकीकरण र जिम्मेवारीकाबारेमा समेत छलफल भएको प्रवक्ता श्रेष्ठले बताए । बैठकमा राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहाकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभाग, केन्द्रीय जनसङ्गठनको एकीकरण र जिम्मेवारी निर्धारण गर्नेबारे समेत छलफल भएको उनले बताए । 
 
उनले भने, “केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनका निम्ति सबैसँग रुचिका प्राथमिकता बारेमा सोध्ने, सल्लाह गर्ने तथा व्यवस्थित र परिमार्जित प्रस्ताव अर्को बैठकमा ल्याउनेसमेत निर्णय भयो ।”