मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नख्खु बम विष्फोटमा संलग्न फरार व्यक्ति पक्राउ

नख्खु बम विष्फोटमा संलग्न फरार व्यक्ति पक्राउ


ललितपुर ।  ललितपुरको नख्खुस्थित एनसेल कार्यालयअगाडि बम विष्फोटमा संलग्न फरार एक व्यक्तिलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको छ । 
 
महानगरीय अपराध महाशाखा काठमाडौँको विशेष टोलीले उक्त घटनामा संलग्न रहेको आरोपमा विप्लव समूहका युवा सङ्गठन सदस्य भोजपुर निवासी दोर्जे भन्ने दोर्ची शेर्पालाई काठमाडौँको गोङ्गबुबाट पक्राउ गरेको हो ।
 
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० सहकुल थापाका अनुसार उनले घटनास्थलमा मुख्य योजनाकारको भूमिका खेलेका थिए । उक्त दिन शेर्पाले एनसेल कार्यालयका सुरक्षागार्डलाई पेस्तोल देखाएर नियन्त्रणमा लिएको सीसी क्यामराबाट पत्ता लागेको थियो । 
 
घटनाका दोषीहरुलाई खोज्ने क्रममा काभ्रेको काफलडाँडामा प्रहरीले चलाएको अपरेशनबाट समेत उनी उम्कन सफल भएको थापाले बताए । 
 
गत साल फागुन १० गते राति भएको बम विष्फोटमा सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो भने कुमार खत्री, प्रतीक्षा खड्का र उरुषा मानन्धर घाइते भएकी थिइन् । उक्त घटनामा आठ जनाको संलग्नता रहेकोमा सात जना यसअघि नै पक्राउ परिसकेका छन् । 
 
विप्लव समूहले विभिन्न स्थानमा आपराधिक गतिविधि गर्न थालेपछि फागुनको अन्तिम साता सरकारले विप्लव समूहको गतिविधि विध्वंशकारी रहेको निष्कर्ष निकाल्दै उसका गतिविधिमाथि रोक लगाएको थियो । त्यसपछि प्रहरीले विप्लव समूहका सयौँ नेता–कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाएको छ ।