नेपाल

बोरामा हालेर फालिएका युवकको उद्धार

बोरामा हालेर फालिएका युवकको उद्धार


सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका—१ घर भई मध्यपुरथिमि नगरपालिका– १ लोकन्थली बस्ने २७ वर्षीय मनीष भण्डारीलाई बोरामा हालेर फ्याँकेको अवस्थामा प्रहरीले उद्धार गरेको छ । 
 
प्रहरीले भक्तपुर र काठमाडौँको सिमाना मनोहरा खोलामा हात र खुट्टामा डोरी तथा मुखमा पट्टी बाँधेर फ्याँकेको अवस्थामा प्रहरीले आज बिहानै उद्धार गरेको हो । 
 
महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले गएराति खोलाको किनारामा मान्छेको आवाज सुनेर हेर्न जाँदा बोराभित्र बाँधेर फ्याँकिएको अवस्थामा भण्डारीको उद्धार गरिएको कोटेश्वर प्रहरी प्रभागले जनाएको छ । 
 
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा गत आइतबार भण्डारीलाई लोकन्थलीबाट तीन जना अपरिचित व्यक्तिले जबरर्जस्ती भ्यानमा हालेर तीन दिनसम्म विभिन्न ठाउँमा घुमाइ राति बाँधेर बोरामा हालेर फ्याँकेको पाइएको हो ।
 
कोटेश्वर प्रहरीले भण्डारीलाई अपराध अनुसन्धान महाशाखालाई बुझाएको र महाशाखाले घटनाको अनुसन्धान शुरु गर्दै अपहरणकारीको खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।