मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काम नगर्ने र बिगार्ने कर्मचारीलाई ठाउँको ठाउँ कारबाही गर्ने सञ्चारमन्त्रीको चेतावनी

काम नगर्ने र बिगार्ने कर्मचारीलाई ठाउँको ठाउँ कारबाही गर्ने सञ्चारमन्त्रीको चेतावनी


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले काम नगर्ने र बिगार्ने कर्मचारीमाथि ठाउँको ठाउँ कारबाही गर्ने चेतावनी दिएका छन् ।
 
उनले चैतवैशाखमा निदाउने, जेठमा उँघ्ने र असारमा फाइल लिएर न्याउरो अनुहार लगाएर मन्त्रालय धाउने प्रवृत्ति अब अन्त्य हुने बताए । 
 
यसैका निमित्त जिम्मेवार कार्यकारीहरुसँग मन्त्रालयले बुधबाकर कार्यसम्पादन सम्झौता सम्पन्न गरेको छ । सञ्चार मन्त्रालयले पहिलोपटक मन्त्रालयमातहतका १४ निकायका प्रमुखसित कार्यसम्पादन करार सम्झौता गरेको हो । 
सेवा तथा विकास कार्यलाई समयमै सम्पन्न गर्न र थप गुणस्तरीय बनाउन सञ्चारमन्त्री बाँस्कोटाको उपस्थितिमा सो सम्झौता गरिएको थियो । 
 
मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले निकायका प्रमुखसित मन्त्रालयमा आयोजित कार्यक्रममा  मन्त्रालय स्थापना दिवस पारेर कार्यसम्पादन सम्झौता गरेका हुन् । 
 
विसं २०२८ साउन १ मा मन्त्रालयको स्थापना भएको थियो । सााउन १ लाई कर्कट सङ्क्रान्ति अर्थात् लुतो फाल्ने पर्वका रुपमा नेपालभर मनाइन्छ । आजैदेखि नयाँ आर्थिक वर्ष पनि सुरु भएको छ । 
 
सम्झौता गर्र्ने आमसञ्चार क्षेत्रका प्रमुखमा राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामल अधिकारी, गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी, नेपाल टेलिभिजनका अध्यक्ष डा महेन्द्र विष्ट, रेडियो प्रसार सेवा विकास समितिका कार्यकारी निर्देशक सुरेशकुमार कार्की, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली थिए । 
 
यसैगरी राष्ट्रिय सूचना प्रविधि केन्द्रका निमित्त प्रमुख सुनिल पौडेल, नेपाल दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनाल, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, नेपाल दूरसञ्चार कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र सुरक्षण मुद्रण विकास समितिका कार्यकारी निर्देशक विकल पौडेल सहभागी थिए । 
 
मन्त्रालयअन्तर्गत हुलाक सेवा विभागका महानिर्देशक देवीप्रसाद ज्ञवाली, सूचना तथा प्रसारण विभागका महानिर्देशक कृष्णकुमार न्यौपाने, सूचना प्रविधि विभागका महानिर्देशक रश्मिप्रसाद यादव र  मुद्रण विभागका निमित्त महानिर्देशक पद्मराज पाठकले करार सम्झौता  गरेका छन् । रासस