मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जङ्गली च्याउ खाँदा एकै गाउँका १२ जना बिरामी

जङ्गली च्याउ खाँदा एकै गाउँका १२ जना बिरामी


जङ्गली च्याउ खाँदा रुकुम पश्चिममा एकै गाउँका १२ जना बिरामी भएका छन् । जङ्गलबाट ल्याएको च्याउ खाँदा मुसीकोट नगरपालिका–१ चन्दननाथ टोलका १२ बिरामी परेका हुन् । 
 
च्याउ खाएर बिरामी पर्नेमा आठ वर्षीया अञ्जु केसी, छ वर्षीय अनोज केसी, १२ वर्षीय रमेश केसी, १५ वर्षीय नवीन केसी, १७ वर्षीया कल्पना केसी र ५४ वर्षीया चन्द्रकुमारी गिरी रहनुभएको छ । त्यस्तै २४ वर्षीया जमुना गिरी, २५ वर्षीया पुष्पाञ्जली गिरी, ३० वर्षीया मनिषा बुढा, ६० वर्षीया देवी खनाल, १३ वर्षीय नवराज खनाल र १६ वर्षीया हिमाली खड्का पनि च्याउ खाँदा बिरामी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 
बिरामी सबैको मुसीकोट नगरपालिका–१ खलङ्गाको साझा अस्पतालमा उपचार भइरहेको छ । अहिले बिरामी सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । उनका अनुसार जङ्गलबाट ल्याएको च्याउ पकाएर हिजो साँझ खाएका उनीहरु लगत्तै बिरामी परेका थिए । समयमै स्वास्थ्य संस्थामा ल्याएका कारण उनीहरुलाई केही हुन नपाएको प्रहरी नायब उपरीक्षक खड्काको भनाइ छ । 
 
यसैबीच प्रहरीले जङ्गली च्याउ नखान आग्रह गरेको छ । जङ्गली च्याउ विषालु हुने र त्यसको सेवनबाट ज्यानै जाने भएकाले जङ्गलबाट ल्याएको च्याउ नखान जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक खड्काले सबैलाई आग्रह गरे । सधैँ खाइरहेको र चिनेको च्याउसमेत विभिन्न कारणले विषालु हुनसक्ने भएकाले जङ्गली च्याउ नखान स्वास्थ्यकर्मीले समेत आग्रह गरेका छन् । जङ्गलमा पाइने विभिन्न प्रकारका च्याउ तरकारीको रुपमा खाने गरिन्छ ।
 
च्याउ खाँदा सात बिरामी
 
जाजरकोट– जङ्गलबाट ल्याएको च्याउ खाँदा जाजरकोटमा सात बिरामी परेका छन् । जङ्गलबाट ल्याएको च्याउ खाँदा बारेकोट गाउँपालिका–१ सिल्पाचौर घर भई सदरमुकाम खलङगामा डेरा गरी बस्दै आएका ३८ वर्षीय शान्त बुढा, ३५ वर्षीय रत्न बुढा, २३ वर्षीय ओमप्रकाश बुढा बिरामी परेका छन् ।
 
यस्तै २६ वर्षीय डम्बर पुन, २२ वर्षीया शान्ति पुन, २३ वर्षीय टकबहादुर पुन र ४७ वर्षीय तीलबहादुर थापा रहेका छन् । उनीहरुको जाजरकोट अस्पतालमा उपचार भइरहेको अस्पतालका डा अमिन शाहले बताए ।
 
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको शाहले बताए । बारेकोट घरबाट खलङ्गा आउँदा फूलचाउँलीको लेकबाट रत्न बुढाले च्याउ टिपेर ल्याएको र शनिबार साँझ पकाएर खाएका थिए । खाएलगत्तै उनीहरुमा बान्ता भएको थियो । जङ्गलमा जथाभावी उम्रेको च्याउ नखाना डा शाहले सबैमा अनुरोध गरेका छन् ।