मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

देशभर बाढीपहिरोको कहर : ५० को मृत्यु, ११०४ जनाको सकुशल उद्धार

देशभर बाढीपहिरोको कहर : ५० को मृत्यु, ११०४ जनाको सकुशल उद्धार


काठमाडौं । अविरल वर्षाका कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आइतबार दिउँसोसम्ममा ५० जनाको मृत्यु भएको छ ।
 
बाढी पहिरोमा परी काठमाडौंमा ३ जना, ललितपुर र भोजपुरमा ५–५ जना, ओखलढुंगामा ४ जना, मकवानपुर, खोटाङ, काभ्रे र सिन्धुलीमा ३–३ जना, धादिङ, झापा, बारा, धनुषा र डोल्पामा २–२ जना तथा ईलाम, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, रामेछाप, चितवन, पाल्पा र दाङमा १–१ जना गरी ५० जनाको मृत्यु भएको हो । 
 
मृत्यु हुनेमध्ये २२ जना महिला र २८ जना पुरुष रहेका छन् । बाढी पहिरोमा परेका काठमाडौंमा १८५ जना, ललितपुरमा ८ जना, उदयपुरमा १० जना, रौतहटमा २०० जना, महोत्तरीमा ५०० जना, सिराहामा २ जना, सर्लाहीमा १०० जना, सप्तरीमा २५ जना, सिन्धुलीमा ७० जना तथा  भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १–१ जना गरी  ११ सयभन्दा बढीको सकुशल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । 
 
बाढी पहिरोमा परी डोल्पामा ११ जना, सिन्धुलीमा ६ जना, ईलाम र मोरङमा ३–३ जना तथा काठमाडौं, ललितपुर, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, सिराहा, धनुषा, र धादिङमा १–१ जना गरी ३५ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको  छ ।
 
साथै मकवानपुरमा ४ जना, ललितपुर र धनकुटामा ३–३ जना, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा २–२ जना तथा काठमाडौं, भक्तपुर, खोटाङ, रामेछाप, धादिङ, दोलखा र चितवन १–१ जना गरी २५ जना घाइते भएका छन् । घाइतेमध्ये १० महिला र १५ पुरुष रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
 
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्धारमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षकहरु लगायतका प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेको बताइएको छ ।
 
साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोधसमेत प्रहरीले हटाउने कार्य गरिरहेको जनाएको छ ।