मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रौतहटका सबै गाउँ डुबानमा, सयौं परिवार विस्थापित

रौतहटका सबै गाउँ डुबानमा, सयौं परिवार विस्थापित


काठमाडौं । लगातारको वर्षाका कारण आएको बाढीले रौतहट जिल्लाका विभिन्न ठाउँ डुबानमा परेको छ । बागमती, लाल बकैया झाँझ, चादीलगायत नदीमा बाढी आउँदा रौतहटको गौर, गरुडा र चन्द्रपुर नगरपालिका डुबानमा परेका छन् । 
 
देवाही, गनाई, हतुवापुर, कटहरिया, छतुवाविजयपुर, दुर्गाभगवतीलगायत गाउँबाट एक हजारजना विस्थापित भएको रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । 
 
“सुरक्षा निकाय बसेको ठाउँ नै पानीले भरिएको छ । पानी परिरहेकाले हामीबीच टेलिफोन सम्पर्क मात्रै हुनसकेको छ । लगातार पानी परिरहेकाले उद्धारमा कठिनाइ भइरहेको छ,” प्रमुख जिल्ला अधिकारी थापाले भने, “हेलिकप्टरबाट उद्धार गर्न पनि घाँटी घाँटी पानी भएकाले ल्यान्ड गर्ने ठाउँ छैन । त्यसैले चपुरमा बसाएर भए पनि उद्धारको प्रयास गर्ने छौं ।”
 
थापाले हेटौंडाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारका लागि मोटर बोटसहित आउन लागेको जानकारी दिए । 
 
सुरक्षाकर्मीका ब्यारेक र कार्यालय नै डुवानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीको कार्यालयसमेत डुबानमा परेका छन् ।
 
जिल्लाका बाग्मती र लाल बकैया नदीको बाँध विभिन्न स्थानमा फुटेका छ । नदी आसपासका सयौं परिवार विस्थापित भएका छन् । 
 
जिल्लाका अधिकांश सडक सञ्जाल विच्छेद भएको छ । पानी पर्ने क्रम नरोकिएको र नदीमा बहाव बढ्दै गएपछि स्थानीय त्रसित भएका छन् ।