मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बाढीले बाँध भत्काउँदा एक हजार घरपरिवार विस्थापित

बाढीले बाँध भत्काउँदा एक हजार घरपरिवार विस्थापित


अविरल वर्षासँगै कमला नदीमा आएको बाढीले ठाउँठाउँमा बाँध भत्काएर बस्तीमा पानी पसेपछि सिरहा नगरपालिका र कल्याणपुर नगरपालिका अधिकांश वडा डुबानमा परेका छन् ।
 
डुबानमा परेका ती स्थानका करिब एक हजारभन्दा बढी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । कमला सिँचाई आयोजनाले सिँचाइका लागि निर्माण गरिएका ‘एन्टी फल्ड सुलुस’ अधुरै छोड्दा त्यहीबाट बाढी गाउँमा पसेपछि सिरहा नगरपालिका–१२ स्थित सारस्वर, वडा नं ६ स्थित बसबिट्टा र कल्याणपुर–१२ गम्हरियाकट्टीलगायतका अधिकांश ठाउँ डुबानमा परेका छन् । 
 
गाउँमा जलस्तर बढ्दै गएको र गाउँगाउँमा सडक भत्किएका कारण स्थानीयवासीलाई उद्धार गर्न समस्या भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिए । कमला नदीको बाढी सदरमुकाममा समेत पसेपछि जिल्ला प्रहरी कार्यालय, तत्कालीन कृषि विकास कार्यलय, पशु सेवा कार्यालय, विद्युत् प्राधिकरणलगायतका अधिकांश कार्यालय डुबानमा परेका छन् ।
 
यस्तै लहान नगरपालिकाका विभिन्न वडामा आएको बाढीले १०० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । लहानका वडा नं १, २, ३ र ४ का अधिकांश घर डुबानमा छन् । वडा नं १ र २ का ८० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ भने वडा नं ४ मा आएको बाढीले घर भत्किँदा तीन घाइते भएका छन् ।
 
लहानस्थित इलाका प्रहरी कार्यालय, डिभिजनल वन कार्यालय, लहान नगरपालिका, इलाका प्रशासन कार्यालय, जलस्रोत कार्यालय, भू–संरक्षणलगायतका सरकारी कार्यालय जलमग्न भएका छन् भने पुर्वपश्चिम राजमार्गबाटै पानी बगिरहेकाले यातायात आवागमनमा समस्या भएको छ । 
 
त्यस्तै मिर्चैया नगरपालिका, गोलबजार नगरपालिका, सुखीपुर नगरपालिका, औरही गाउँपालिकालगायतका स्थानीय तहका अधिकांश वडासमेत जलमग्न भएका प्रहरीले जनाएको छ । बाढीबाट प्रभावित बस्तीमा सुरक्षाकर्मी परिचालन गरी उद्धारकार्यलाई जारी राखेको प्रजिअ अधिकारीले बताए ।
 
लगातारको अविरल वर्षाले कमला, बलानलगायतका नदीमा जलस्तर बढ्ने क्रम जारी रहेकाले नदी आसपासका आम सर्वसाधारणहरुमा सचेत गरिएको छ भने सम्भावित खतरालाई मध्यनगर गर्दै सुरक्षाकर्मीलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिइसकेको प्रजिअ अधिकारीले जानकारी दिए ।
 
कामदारको उद्धारमा कठिनाईं
 
कमला नदीको बाढीमा शुक्रबार रातिदेखि फसेका छ जनाको उद्धारमा समस्या भएको छ । सिरहा नगरपालिका–६ स्थित बसपिट्टा टोल नजिकै निर्माणाधीन पुलको काममा खटिएका छ  कामदार कमला नदीको बाढीमा फसेका हुन् ।
 
निर्माणाधीन पुलमै बसेर उद्धारको प्रतिक्षा गरिरहेका छ जनालाई नदीमा पानीको बहाब अत्यधिक रहेकाले उद्धार गर्न कठिनाईं भएको सिरहाका प्रजिअ अधिकारीले जानकारी दिए । उनले भने, ‘छ कामदार बाढीमा फसेको राति नै खबर आयो, तर नदीमा पानीको बहाब बढिरहेकाले तत्काल उद्धार गर्न समस्या भएको छ, काठमाडौँबाट हेलिकोप्टरसमेत आउन नसक्ने अवस्था छ ।’
 
पुल र सडक भत्किँदा सडक अबरुद्ध
 
अविरल वर्षासँगै आएको बाढीले सप्तरीको बोदे बसाइन नगरपालिका–५ स्थित खडकखोलामा नवनिर्मित पुल बगाएपछि पूर्वपश्चिम हुलाकी सडकखण्डअन्तर्गत पूर्णरुपले अबरुद्ध भएको छ । खोलामा आएको बाढीले पुलको पिलर नै भाँसिएपछि पुल बगेको स्थानीयवासीले बताएका छन् । बाढीले बगाएपछि पूर्वपश्चिम हुलाकी राजमार्ग पूर्णरुपले अबरुद्ध भएको इलाका प्रहरी कार्यालय बोदे बसाइनका प्रहरी नायब निरीक्षक आमिरी यादवले जानकारी दिए । 
 
शुक्रबार राति बाढीले पुल बगाएपछि पूर्वपश्चिम हुलाकी राजमार्ग आवागमण पूर्णरूपले ठप्प भएको छ भने यात्रुहरु अलपत्रमा परेका छन् । यस्तै खडक नदीको बाढीले बोदे बसाइन नगरपालिकाको वडा नं ५ जाँजर, वडा नं ७ हैठिस्थित थारु टोल, मुसहर बस्ती डुबानमा परेको छ भने बोका नदीको बाढी गाउँमा पसेपछि बोदे बसाइनका धनगढी, सारस्वर, कुशमहार, काचन, देउरी, खडकपुरलगायतका गाउँ डुबानमा परेको बोदे नगर प्रमुख आतेशसिंह यादवले जानकारी दिए । 
 
यस्तै हुलाकी सडकअन्तर्गत बोदे बसाइन बजार नजिकै सडक भत्किदाँ बजार सम्पर्र्किवहीन बनेको छ भने विद्युत् सेवासमेत अबरुद्ध भएको छ ।