नेपाल

राप्ती नदीले खतराको सूचक नाघ्यो, प्रशासनद्वारा चितवनमा उच्च सतर्कता

राप्ती नदीले खतराको सूचक नाघ्यो, प्रशासनद्वारा चितवनमा उच्च सतर्कता


चितवन । चितवन भएर बग्ने राप्ती नदीले खतराको सूचक नाघेको छ । लगातार परिरहेको वर्षाले चितवन भएर बग्ने राप्ती नदीको बहाबले खतराको सूचक नाघेको हो । राप्ती नदीको खतरा सूचांक ४ मिटरभन्दा बढी अहिले पानीको बहाब पुगेको छ ।
 
राप्ती नदीमा ४ मिटरभन्दा कमलाई सामान्य मानिन्छ । तर ४ मिटर पुग्नेबित्तिकै खतराको सूचांकको रुपमा लिइन्छ । साँझ ६ बजेसम्ममा पानीको बहाब बढेर ४ मिटर ५० सेन्टिमिटर पुगेको जल तथा मौषम विज्ञान विभाग रजैयाका बद्री ढकालले जानकारी दिए । 
 
उनले निरन्तर पानी परिरहेकाले पानीको बहाब बढ्दो क्रममा रहेको बताए । खतराको संकेत भन्दा बढि पानीको बहाब पुगेकोले सचेत रहन उनले आग्रह गरेका छन् ।
 
राप्तीमा आउने बाढीले विशेषगरी पूर्वी चितवनको राप्ती, खैरहनी, रत्ननगर र भरतपुरका केही स्थानमा असर पार्ने गरेको छ । दुई वर्षअघि राप्तीमा आएको बाढीले पर्यटकीय क्षेत्र सौराहालगायत पूर्वी चितवनको धेरै स्थान डुबानमा परेको थियो ।
 
निरन्तरको वर्षाले पूर्वी चितवनको वीरेन्द्रनगरस्थित मूख्य राजमार्ग जलमग्न बनेको छ । सडकको पानीको निकास नभएपछि मूख्य राजमार्ग नै जलमग्न बनेको हो ।
 
लगातार वर्षा भइरहेकोले सवारी साधन संचालनमा कठिनाइ हुन थालेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले पूर्वी चितवनको मूख्य राजमार्ग क्षेत्रमा पानीको निकास नहुँदा जलमग्न भएको जानकारी दिए ।
 
सोही क्षेत्रमा रहेका प्रमुख जिल्ला अधिकारीले स्थानीयबासीलाई सचेत रहन आग्रह गरिएको बताए । उनले चितवनमा बाढीको खतरा रहेकोले सबै सुरक्षा निकायदेखी स्थानीय तहले उच्च सतर्कता अपनाएको बताए । उनले भने, ‘सबै निकाय हाइअलर्ट छौं, क्षति हुन नदिन सबै संयत्रले आफ्नो काम अघि बढाएको छ ।’
 
चितवनको राप्ती र नारायणी नदीमा आउने बाढीले असर पुर्‍याउने गरेको छ । सबैभन्दा धेरै पूर्वी चितवन बाढीको मारमा पर्ने गरेको छ । राप्ती नदीको बहाब बढ्दै गएर खतराको सूचकभन्दा माथि पुगेको छ । जसका कारण पूर्वी चितवन क्षेत्रमा बढी सतर्कता अपनाउन आग्रह गरिएको छ ।