मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राप्ती नदीले खतराको सूचक नाघ्यो, प्रशासनद्वारा चितवनमा उच्च सतर्कता

राप्ती नदीले खतराको सूचक नाघ्यो, प्रशासनद्वारा चितवनमा उच्च सतर्कता


चितवन । चितवन भएर बग्ने राप्ती नदीले खतराको सूचक नाघेको छ । लगातार परिरहेको वर्षाले चितवन भएर बग्ने राप्ती नदीको बहाबले खतराको सूचक नाघेको हो । राप्ती नदीको खतरा सूचांक ४ मिटरभन्दा बढी अहिले पानीको बहाब पुगेको छ ।
 
राप्ती नदीमा ४ मिटरभन्दा कमलाई सामान्य मानिन्छ । तर ४ मिटर पुग्नेबित्तिकै खतराको सूचांकको रुपमा लिइन्छ । साँझ ६ बजेसम्ममा पानीको बहाब बढेर ४ मिटर ५० सेन्टिमिटर पुगेको जल तथा मौषम विज्ञान विभाग रजैयाका बद्री ढकालले जानकारी दिए । 
 
उनले निरन्तर पानी परिरहेकाले पानीको बहाब बढ्दो क्रममा रहेको बताए । खतराको संकेत भन्दा बढि पानीको बहाब पुगेकोले सचेत रहन उनले आग्रह गरेका छन् ।
 
राप्तीमा आउने बाढीले विशेषगरी पूर्वी चितवनको राप्ती, खैरहनी, रत्ननगर र भरतपुरका केही स्थानमा असर पार्ने गरेको छ । दुई वर्षअघि राप्तीमा आएको बाढीले पर्यटकीय क्षेत्र सौराहालगायत पूर्वी चितवनको धेरै स्थान डुबानमा परेको थियो ।
 
निरन्तरको वर्षाले पूर्वी चितवनको वीरेन्द्रनगरस्थित मूख्य राजमार्ग जलमग्न बनेको छ । सडकको पानीको निकास नभएपछि मूख्य राजमार्ग नै जलमग्न बनेको हो ।
 
लगातार वर्षा भइरहेकोले सवारी साधन संचालनमा कठिनाइ हुन थालेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले पूर्वी चितवनको मूख्य राजमार्ग क्षेत्रमा पानीको निकास नहुँदा जलमग्न भएको जानकारी दिए ।
 
सोही क्षेत्रमा रहेका प्रमुख जिल्ला अधिकारीले स्थानीयबासीलाई सचेत रहन आग्रह गरिएको बताए । उनले चितवनमा बाढीको खतरा रहेकोले सबै सुरक्षा निकायदेखी स्थानीय तहले उच्च सतर्कता अपनाएको बताए । उनले भने, ‘सबै निकाय हाइअलर्ट छौं, क्षति हुन नदिन सबै संयत्रले आफ्नो काम अघि बढाएको छ ।’
 
चितवनको राप्ती र नारायणी नदीमा आउने बाढीले असर पुर्‍याउने गरेको छ । सबैभन्दा धेरै पूर्वी चितवन बाढीको मारमा पर्ने गरेको छ । राप्ती नदीको बहाब बढ्दै गएर खतराको सूचकभन्दा माथि पुगेको छ । जसका कारण पूर्वी चितवन क्षेत्रमा बढी सतर्कता अपनाउन आग्रह गरिएको छ ।