मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

देशभर भारी वर्षा : बाढीपहिरोमा परी १६ जनाको मृत्यु

देशभर भारी वर्षा : बाढीपहिरोमा परी १६ जनाको मृत्यु


काठमाडौं । असारको अन्तिम साता बिहीबारदेखि मुलुकभर परेको भारी वर्षाका कारण बाढीपहिरोमा परी देशभर १६ जनाको मृत्यु भएको छ । 
 
प्रहरीका अनुसार काभ्रे, रामेछाप, भोजपुर, ललितपुर, खोटङ, मोरङ, दोलखा, धनकुटा, महोत्तरी, पाँचथर, सुनसरी, मकवानपुर, पर्सा, धादिङ, सिन्धुली र इलाममा गरी १६ जनाको मृत्यु भएको हो ।
काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकामा बलराम खत्रीको घरको पर्खाल भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
 
शर्मीला यादव, निलु यादव र कुन्दन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । धादिङमा घर भत्किँदा गजुरीकी आठ वर्षीया अस्मिता तामाङको मृत्यु भएको छ । काभ्रेको बनेपा नगरपालिका ३ चुनातालमा घरमाथिबाट खसेको पहिरोमा परेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोमा दंगाल र सोहनी दंगाल रहेका छन् ।
 
त्यसैगरी रामेछापमा पनि पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । 
 
दुईदिनदेखि परेको अविरल वर्षाका कारण अहिलेसम्म पाँचजना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
 
अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले घर पुर्दा बनेपा नगरपालिका–३ चुनातालका दुईको मृत्यु हुनाका साथै अन्य दुई घाइते भएका छन् ।
 
स्थानीय रामप्रसाद दङ्गालको ढुङ्गा र माटोले बनेको दुईतले घर बिहीबार राति ११ बजे पहिरो पुर्दा उनकी श्रीमती ६० वर्षीया गोमा र नातिनी सात वर्षीया सुहबीको मृत्यु भएको थियो भने बुहारी ३० वर्षीया सुशीला र उनकी तीन महीनाकी छोरी अनुष्का घाइते भएका थिए । 
 
घरमा रहेका चारैजना घरभित्र पुरिएपछि प्रहरी र स्थानीयवासीको सहयोगमा उनीहरूको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जयाज सापकोटाले जानकारी दिए ।
 
अविरल वर्षाले भोजपुरमा दुईजनाको मृत्यु भएको छ । वर्षासँगै गएको पहिरोले चर्पी बगाउँदा चर्पीसँगै रहेका टेम्केमैयुम गाउँपालिका–ं ९ लेखर्क ओइराङका कुवेरमान विकका १४ वर्षीय छोरा जनक विकको ज्यान गएको छ । यस्तै रामप्रसाद राई गाउँपालिका–७ बासिखोराका जगतबहादुर राईको घरको चुलीसहितको गाह्रो भत्किएर पुरेकाले मृत्यु भएको हो । 
 
घरको पिँढीमा सुतिरहनुभएका ६६ वर्षीय जगतबहादुर राईको फुसको छानोले बनेको एकतले घरको चुली र गाह्रो भत्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए ।