मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शिक्षकको कुटाइबाट एक विद्यार्थीको मृत्यु, दोषीलाई कारबाही गर्न अखिल क्रान्तिकारीको माग

शिक्षकको कुटाइबाट एक विद्यार्थीको मृत्यु, दोषीलाई कारबाही गर्न अखिल क्रान्तिकारीको माग


कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ स्थित महाकाली बाल विद्यालयका एक विद्यार्थीको मृत्यु भएको छ । 
 
गत असार १३ गते शिक्षकको कुटाइबाट घाइते भएका कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीको उपचारका क्रममा भारतको भोजीपुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णनन्द भट्टले जानकारी दिए ।
 
“यसअघि सो घटनाबारे विद्यार्थीका अभिभावकका तर्फबाट चार शिक्षकविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी आएको थियो”, प्रहरी निरीक्षक भट्टले भने, “त्यो बेला अभिभावक र शिक्षकबीच पहिले घाइतेको उपचार गराउने सहमति भएको थियो ।”
 
प्रहरीले सुरक्षा र घटनाबारे अनुसन्धानका लागि भन्दै विद्यालयका प्रधानाध्यापकसहित चार शिक्षकलाई मङ्गलबार राति नै नियन्त्रणमा लिएको जनाएको छ । 
 
“शव भारतबाट आइसकेपछि  परीक्षणलगायतका प्रक्रिया अघि बढ्छ”, भट्टले भने, “पीडित पक्षको जाहेरीका आधारमा कारवाही अघि बढ्छ ।”
 
प्रहरीले प्रधानाध्यापक यशोदा जोशी तथा शिक्षक लक्ष्मण भट्ट, दुर्गादत्त पाठक र हर्क जाग्रीलाई नियन्त्रणमा लिएको छ । 
 
मृतक विद्यार्थीका अभिभावकले भने प्रधानाध्यापकसहित चारै शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप लगाएका छन् । कुटपिटबाट विद्यार्थीको छाती, टाउकोमा चोट लाग्नुका साथै दायाँ खुट्टा भाँचिएको थियो । 
 
यसैबीच, नेपाल कम्युनिस्ट पार्टी निकट अखिल ९क्रान्तिकारी० कञ्चनपुरका अध्यक्ष नरेन्द्र भाटले बुधबार विज्ञप्ति जारै गर्दै शिक्षकहरुको कुटपिटबाट मुत्यु भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि हदैसम्मको कारबाहीको माग गरेका छन् ।
 
विद्यालय बाहिर साथीभाइसँग झै–झगडा गरेको विषयलाई आधार बनाएर विद्यालयका प्रधानाध्यापकसहितका शिक्षकले कलौनीलाई कुटपिट गरेको उनको परिवारले जनाउँदै आएका थिए । नौ कक्षामा अध्ययनरत कलौनीलाई गत शुक्रबार विद्यालयमै कुटपिट गरेको उनका बुवा बृहस्पति कलौनीले बताए ।
 
‘प्रधानाध्यापक यशोदा जोशी, शिक्षकद्वय लक्ष्मणदत्त भट्ट र दुर्गादत्त पाठकले छोरालाई कुटपिट गरेर घाइते बनाए,’ उनले भने । कुटपिटबाट कलौनीको टाउको र छातीमा चोट लागेको थियो भने दायाँखुट्टा भाँचिएको बुवा बृहस्पतिले बताए ।
 
यदि उक्त घटनालाई कुनै पनि बहानामा काण्डकारी सरकारले अपराधीलाई संरक्षण गर्न खोजे सशक्त आन्दोलनमा जाने चेतावनी पनि विज्ञप्तिमार्फत दिइएको छ ।