नेपाल

सरकारले तरकारी जाँच गर्ने निर्णय फिर्ता लिएकोमा आपत्ति

सरकारले तरकारी जाँच गर्ने निर्णय फिर्ता लिएकोमा आपत्ति


काठमाडौँ । सांसद् अनिता देवकोटाले भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी जाँच गर्ने निर्णय सरकारले फिर्ता लिएकामा आपत्ति जनाएकी छन् । 
 
राष्ट्रियसभाको आइतबारको बैठकको प्रारम्भमै उनले भनिन्, ‘भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी जाँच गर्ने भनिएको थियो तर सरकारले त्यो निर्णय किन फिर्ता लियो ? विषादीयुक्त तरकारी उत्पादन र बिक्री वितरणमा कडाइका साथ रोक लगाइयोस्, जनताको स्वास्थ्यको ख्याल गरियोस् ।’ 
 
सांसद् देवकोटाले सर्लाही जिल्लामा खोलामा उत्खनन्का क्रममा पुरिएको बालकको उद्धारमा प्रहरी प्रशासनको ढिलाइका कारण उनको मृत्यु भएको आरोप लगाइन् । 
 
उद्धारमा प्रहरी प्रशासनको ढिलाइप्रति स्थानीयवासीले गरेको आन्दोलनमा प्रहरीले दमन गरेर आतंक मच्चाएकाले त्यसबारे स्पष्टीकरण दिन पनि उनले माग गरिन् । 
 
यस्तै, प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद्ले विषादीयुक्त फलपूmल तथा तरकारीको आयात रोक्न सरकारसँग माग गरेका छन् । 
 
बैठकको शून्य समयमा सांसद् गगनकुमार थापाले सरकारले कसैको दबाबमा जनतालाई विष खुवाइरहेको आरोप लगाए । 
 
सांसद् गौरीशंकर चौधरीले भारतबाट तरकारी आयात रोक्न आग्रह गरे । सांसद् चित्रलेखा यादवले भारतबाट आयात भइरहेका तरकारीको विषादी परीक्षण गर्न माग गरे । 
 
सांसद् अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोक जिल्लाको जुगल र सुनकोशी गाँउपालिकामा पहिराबाट जनधनको क्षति भएको बताउँदै घाइतेको शीघ्र उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति दिलाउन माग गरे । 
उनले माथिल्लो भोटेकोशी नदी नियन्त्रण गर्न पनि सरकारको ध्यानाकर्षण गराएका थिए । 
 
सांसद् कृष्णप्रसाद दाहालले वातावरण खराब हुने गरी बाटोघाटो निर्माण रोक्नुपर्नेमा सुझाव दिए । 
 
सांसद् कृष्णभक्त पोखरेलले राजमार्गमा यातायातका साधन रोकी यातायात कर उठाउने कार्य अवैज्ञानिक भएको तर्क गरे ।