मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारले तरकारी जाँच गर्ने निर्णय फिर्ता लिएकोमा आपत्ति

सरकारले तरकारी जाँच गर्ने निर्णय फिर्ता लिएकोमा आपत्ति


काठमाडौँ । सांसद् अनिता देवकोटाले भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी जाँच गर्ने निर्णय सरकारले फिर्ता लिएकामा आपत्ति जनाएकी छन् । 
 
राष्ट्रियसभाको आइतबारको बैठकको प्रारम्भमै उनले भनिन्, ‘भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी जाँच गर्ने भनिएको थियो तर सरकारले त्यो निर्णय किन फिर्ता लियो ? विषादीयुक्त तरकारी उत्पादन र बिक्री वितरणमा कडाइका साथ रोक लगाइयोस्, जनताको स्वास्थ्यको ख्याल गरियोस् ।’ 
 
सांसद् देवकोटाले सर्लाही जिल्लामा खोलामा उत्खनन्का क्रममा पुरिएको बालकको उद्धारमा प्रहरी प्रशासनको ढिलाइका कारण उनको मृत्यु भएको आरोप लगाइन् । 
 
उद्धारमा प्रहरी प्रशासनको ढिलाइप्रति स्थानीयवासीले गरेको आन्दोलनमा प्रहरीले दमन गरेर आतंक मच्चाएकाले त्यसबारे स्पष्टीकरण दिन पनि उनले माग गरिन् । 
 
यस्तै, प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद्ले विषादीयुक्त फलपूmल तथा तरकारीको आयात रोक्न सरकारसँग माग गरेका छन् । 
 
बैठकको शून्य समयमा सांसद् गगनकुमार थापाले सरकारले कसैको दबाबमा जनतालाई विष खुवाइरहेको आरोप लगाए । 
 
सांसद् गौरीशंकर चौधरीले भारतबाट तरकारी आयात रोक्न आग्रह गरे । सांसद् चित्रलेखा यादवले भारतबाट आयात भइरहेका तरकारीको विषादी परीक्षण गर्न माग गरे । 
 
सांसद् अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोक जिल्लाको जुगल र सुनकोशी गाँउपालिकामा पहिराबाट जनधनको क्षति भएको बताउँदै घाइतेको शीघ्र उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति दिलाउन माग गरे । 
उनले माथिल्लो भोटेकोशी नदी नियन्त्रण गर्न पनि सरकारको ध्यानाकर्षण गराएका थिए । 
 
सांसद् कृष्णप्रसाद दाहालले वातावरण खराब हुने गरी बाटोघाटो निर्माण रोक्नुपर्नेमा सुझाव दिए । 
 
सांसद् कृष्णभक्त पोखरेलले राजमार्गमा यातायातका साधन रोकी यातायात कर उठाउने कार्य अवैज्ञानिक भएको तर्क गरे ।