मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकार कुनै हालतमा असफल नहुने प्रचण्डको दाबी

सरकार कुनै हालतमा असफल नहुने प्रचण्डको दाबी


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार कुनै हालतमा असफल नहुने दाबी गरेका छन् । 
 
भक्तपुरमा नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको एकता महाधिवेशनको उद्घाटन गर्दै उनले कम्युनिष्ट नेतृत्वको सरकार असफल हुन्छ भन्नेलाई सरकार असफल बनाएर देखाउन चुनौतीसमेत दिए ।
 
“कम्युनिष्टहरु अन्तर्राष्ट्रियरुपमा आन्दोलन गर्दा लोकप्रिय हुन्छन् तर शासन सत्तामा पुगेपछि भने सफल हुँदैनन्, सत्ताको अनुभव नहँुदा समस्या आउँछ भन्ने भनाइ छ”, प्रचण्डले भने, “नेपालका कम्युनिष्ट आन्दोलनमा मात्रै होइन सरकार सञ्चालनमा पनि सफल छन् भन्ने देखाउनुपर्छ ।”
 
अबको एक महिनाभित्र पार्टी एकता टुङ्ग्याएर सरकार सञ्चालनमा मात्रै पार्टी केन्द्रित रहने बताउँदै उनले पार्टी एकतामा मात्रै अब अल्झेर नबस्ने भनाइ राखे । आज राजनीतिक प्रतिवेदन टुङ्गिएको बताउँदै उनले भने, “आज बालुवाटारमा प्रधानमन्त्री र म बसेर राजनीतिक प्रतिवेदनलाई टुङ्ग्याएका छौँ, ठूलो काम पूरा भएको छ, दुईबीचको सहमति र सहकार्यबाटै एकता अगाडि बढ्छ ।”
 
सरकार र पार्टीले देशलाई स्थायित्व, समृद्धि र विकास दिन नसके दुर्भाग्य हुने बताउँदै उनले सबै खालका अहंकारलाई त्यागेर जनताको हितमा काम गर्ने समय आएको बताए । जनतालाई निर्वाचनमा जाँदा गरेको प्रतिबद्धता पूरा गर्नुपर्ने बताउँदै उनले भने, “सरकार र पार्टी दुवै यतिखेर विशेष परिस्थितिमा गुज्रिरहेको छ, पार्टी एकताको सन्दर्भ पनि सङ्क्रमणमै छ, हामीले विगतमा गरेको घोषणालाई व्यवहारमा उतार्ने अग्निपरीक्षामा हामी रहेका छौँ ।” 
 
पार्टी गुट र स्वार्थमा नभई देश र जनताको हितमा लाग्ने बताउँदै उनले सरकारको लोकप्रियताको ग्राफलाई घट्न नदिई अगाडि बढ्नुपर्नेमा जोड दिए । 
 
पार्टीको आगामी महाधिवेशन एकताको महाधिवेशन हुने बताउँदै प्रचण्डले भने, “एकतापछिको पार्टीको आगामी महाधिवेशन एकता महाधिवेशन नै हुन्छ, यसमा कुनै चुनाव र मतदान हुँदैन, सहमतिबाटै अगाडि बढ्ने हो, त्यसपछिको महाधिवेशन मतदान प्रक्रियामा जाला ।” उनले एकताबद्ध भएर तल्लो तहसम्म जानुपर्नेमा जोड दिए ।