मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकार विषादी परीक्षणबाट पछि हट्नु जनविरोधी प्रवृत्ति : कांग्रेस

सरकार विषादी परीक्षणबाट पछि हट्नु जनविरोधी प्रवृत्ति : कांग्रेस


काठमाडौँ । नेपाली कांग्रेसले नागरिकको जीवनसँग जोडिएको विषादी परीक्षणबाट सरकार पछि हटेको विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।
 
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै नागरिक जीवनका प्रति गम्भीर संवेदनशीलता राखेको भ्रम सम्प्रेषण गर्ने तर नागरिकको स्वास्थ र समग्र जीवनप्रति गम्भीर खेलवाड गर्न किञ्चित नहिच्किने वर्तमान सरकारको जनविरोधी प्रवृत्तिको खुलेर विरोध गरेको छ । 
 
विज्ञप्तिमा भनिएको छ, ‘विषादीयुक्त खाद्यपदार्थका कारण अनेक रोगले नागरिकलाई गाँजिरहेको तथ्यलाई बिर्सिएर सरकार आफ्नै घोषणाविपरीत उभिनु नागरिक जीवनमाथि हदैसम्मको गैरजिम्मेवारी हो ।’ 
 
निर्वाचनका बेला अभिव्यक्त महान राष्ट्रवादी नारा किन हद दर्जाको नालायकीपनका साथ विसर्जित हुँदैछ ? भनेर प्रश्न गरिएको छ ।
 
नागरिक जीवनमाथि खेलवाड गर्ने गैह्रजिम्मेवार सरकारको घोर भत्र्सना गर्दै नेपाली कांग्रेसले विषादीयुक्त तरकारी–फलफूल प्रवेशमा तत्कालै कडारुपमा परीक्षण र नियन्त्रणको मार्गमा उभिन सरकारलाई सचेत गराएको छ । 
 
कांग्रेसको प्रेस विज्ञप्ति 
 
१. नागरिक जीवनका प्रति गम्भीर संवेदनशीलता राखेको भ्रम सम्प्रेषण गर्ने तर नागरिकको स्वास्थ र समग्र जीवनप्रति गम्भीर खेलवाड गर्न किञ्चित नहिच्किने वर्तमान सरकारको जनविरोधी प्रवृत्तिलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । 
 
२. नेपाल–भारत सिमाको भन्सार विन्दुमा तरकारी फलफुल लगायतमा विषादीको अवशेष अनिवार्य परिक्षण गर्ने नीति सरकार स्वयंले सूचना प्रकाशित गरेर सार्वजनिक गरेको थियो । तर अहिले आएर सरकारले एकाएक कुनै परिक्षण वेगर भित्रिन दिने आदेश दिएको समाचार अत्यन्त गम्भीर छ । नेपाली कांग्रेस यसबारेमा पारदर्शी र आधिकारिक धारणा तत्काल सार्वजनिक गर्न सरकार समक्ष माग गर्दछ । 
 
३. काठमाडौँ सहरको प्रदूषणको प्राविधिक मापनको ज्ञान वेगर एकातर्फ मास्क नलगाई हिड्न अपिल गर्ने अनि अर्कोतर्फ विषादीयुक्त तरकारी परिक्षण वेगर अन्धाधुन्ध प्रवेश गर्न दिने दोहोरो चरित्र सरकारले प्रस्तुत गर्नु अत्यन्त दुःखद छ । 
 
४. विषादीयुक्त खाद्यपदार्थका कारण अनेक रोगले नागरिकलाई गाँजिरहेको तथ्यलाई विर्षिएर सरकार आफ्नै घोषणाविपरीत उभिनु नागरिक जीवनमाथि हदैसम्मको गैह्रजिम्मेवारी हो । निर्वाचनका बेला अभिव्यक्त महान् राष्ट्रवादी नारा किन हद दर्जाको नालायकीपनका साथ विसर्जित हुँदैछ ?
 
५. नागरिक जीवनमाथि खेलवाड गर्ने गैह्रजिम्मेवार सरकारको भत्र्सना गर्दै नेपाली कांग्रेस विषादीयुक्त तरकारी–फलफूल प्रवेशमा तत्कालै कडारुपमा परीक्षण र नियन्त्रणको मार्गमा उभिन सरकारलाई सचेत गराउँदछ । 
 
जय नेपाल !
विश्वप्रकाश शर्मा
प्रवक्ता
नेपाली कांग्रेस