मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

‘प्रधानमन्त्री ओली बिहान देशभक्त, बेलुकी दिल्लीभक्त’

‘प्रधानमन्त्री ओली बिहान देशभक्त, बेलुकी दिल्लीभक्त’


काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली हाँसोको पात्र बनेको आरोप लगाएका छन् ।
 
रिपोटर्स क्लब नेपालले आज काठमाडौँमा गरेको कार्यक्रममा उनले भने,‘प्रधानमन्त्री ओलीजी हाँस्यास्पद पात्र बन्नुभयो । बिहान उठ्दा देशभक्तिको कुरा गर्नुहुन्छ, अनि बेलुका भयो कि दिल्लीभक्ति बन्नुहुन्छ ।’
 
साक्षात्कारमा उनले ओलीको कार्यशैली चित्तबुझ्दो नभएको टिप्पणी गरे । उनले भने, ‘अहिलेकै ताजा विषयको कुरा गर्नुहुन्छ भने प्रधानमन्त्रीले बिहान भारतबाट आयात गरिने तरकारी तथा फलफूलजन्य वस्तुमा विषादी भेटिएकोले रोक्ने निर्णय गरियो भन्नुभयो, बेलुका हुनेबित्तिकै आयात गर्न दिने भनेर निर्णय गराउनुभएछ । उहाँलाई कतिबेला के मुड चल्छ रु थाहै हुँदैन ।’
 
गुरुङले आइफा अवार्ड नेपालमा आयोजना गर्ने सवालको कुरा उठाउँदै सरकारले क्षणमै राष्ट्रवादी र क्षणमै दिल्लीवादी चरित्र देखाएको पनि आरोप लगाए । उनले भने,‘चर्को विवाद भएपछि आइफा अवार्ड नेपालमा आयोजना नहुने भनिएको थियो, फेरि अहिले प्रधानमन्त्री ओलीले जसरी पनि नेपालमा गराएरै छोड्ने भन्नुभएछ, उहाँ एक्कासि फेरि दिल्लीभक्त हुनुभयो ।’ 
 
नेपालका नेताले यही देश र यहाँको जनताको लागि राजनीति गर्नुपर्ने बताउँदै कसैलाई खुसी तुल्याउनको लागि जे मन लाग्यो त्यही निर्णय गर्न नहुने उनको भनाइ छ । उनले भने,‘अब कांग्रेसले टुलुटुलु हेरेर बस्दैन । यो सरकारलाई हामी आन्दोलनबाटै ढाल्छौँ । सरकार नालायक भयो ।’
 
अर्का केन्द्रीय सदस्य श्याम घिमिरेले वर्तमान सरकारलाई पाँच वर्ष नै चलाउन दिनुपर्ने धारणा राखे । उनले अहिले प्रधानमन्त्री ओलीको विकल्प खोज्न नहुने स्पष्ट पारे । उनले भने, ‘यो सरकार पाँच वर्षको लागि हो । त्यसैले यसले पूरा अवधि सरकार चलाउन पाउनुपर्छ । हामी स्थिरताको पक्षमा छौं । हामी प्रधानमन्त्रीमा केपी ओलीलाई नै निरन्तरता चाहन्छौं ।’ घिमिरेले आफ्ना पार्टी सभापति शेरबहादुर देउवाले पनि सरकार ढाल्छौँ नै भनेर अभिव्यक्ति नदिएको जिकिर गरे । 
 
उनले भने,‘उहाँले पनि सरकारले गरेका नराम्रा कामको विरोध गर्नुभएको हो । तर, सरकार नै ढाल्छु भनेर अभिव्यक्ति दिएजस्तो मलाई लाग्दैन ।’
 
साक्षात्कारमा अर्का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीले भोलिको बैठकमा समग्र मुलुकको परिस्थितिबारे छलफल हुने बताए । उनले भने, ‘नेकपाको गतिविधि र सरकारको कामबारे पनि विश्लेषण हुन्छ ।’ पछिल्लो समय हिन्दूराष्ट्रको विषय जोडतोडले उठेको सुनाउँदै भोलिको बैठकमा यो विषय पनि स्वभाविक रुपमा उठ्ने भण्डारीले जनाए ।  
 
केन्द्रीय सदस्य तथा पूर्व कृषिमन्त्री रामकृष्ण यादवले वर्तमान सरकारले लोकतान्त्रिक व्यवस्थालाई नै कमजोर तुल्याउने काम गरिरहेकोले अब कांग्रेसले सरकारको गलत कदमविरुद्ध सशक्त भूमिका निर्वाह गर्ने बताए ।