नेपाल

बहुचर्चित सुडान घोटाला काण्डमा पूर्वप्रहरी महानिरीक्षक ठकुरी जेल चलान

बहुचर्चित सुडान घोटाला काण्डमा पूर्वप्रहरी महानिरीक्षक ठकुरी जेल चलान


काठमाडौँ । सुडान घोटाला काण्डमा प्रहरीको बन्दोबस्ती सामान खरिदमा भ्रष्टाचारी ठहर भएका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजी) रमेशचन्द ठकुरी जेल चलान गरिएको छ । 
 
सर्वोच्च अदालतमा आज कारागार बाहिरै बसेर पुनरावेदन गर्न पाउने निवेदन लिएर ठकुरी सर्वोच्च अदालतमा पुगेका थिए । सर्वोच्च प्रशासनले फैसला कार्यान्वयनलाई सहयोग गर्नुपर्ने भन्दै ठकुरीलाई डिल्लीबजार कारागार चलान गरेको हो । 
 
पूर्वमहानिरीक्षक ठकुरीलाई सर्वोच्च अदालतले २०७४ वैशाख १७ गते एक वर्ष कैद र रु ४० हजार जरिवानाको फैसला सुनाएको थियो ।
 
सो काण्डमा सर्वोच्च अदाललते नेपाल प्रहरीका पूर्वमहानिरीक्षक ओमविक्रम राणालाई दुई वर्ष कैद र ५० हजार जरिवाना, हेमबहादुर गुरुङलाई एक वर्ष कैद र रु ४० हजार जरिवाना र चन्दलाई एक वर्ष कैद र रु ४० हजार जरिवाना सुनाएको  थियो । राणा र गुरुङ जेल सजाय भोगिरहेका छन् । 
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनअनुसार सुडान मिसनमा करिब रु ४३ करोड बराबरको सामान खरिदमा रु २८ करोड ४० लाख भ्रष्टाचार भएको थियो । विसं २०६५ असोजदेखि सुडानको डार्फरमा नेपाल प्रहरीको टोली खटिँदै आएको छ । 
 
विशेषका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्कीको इजलासले गरेको फैसलामा प्रहरीका पूर्व महानिरीक्षक ओमविक्रम राणालाई १७ करोड ६ लाख, हेमबहादुर गुरुङलाई ६ करोड ४८ लाख र रमेशचन्द ठकुरीलाई ४ करोड ८५ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । जनही दुई वर्षको कैद सजाय पनि इजलासले सुनाएको थियो ।
 
यस्तै, ठेकेदार बेलायती कम्पनी एस्योर्ड रिस्कका निर्देशक माइकल राइडर र नेपाल प्रतिनिधि शम्भु भारतीलाई पनि दोषी ठहर गरेको थियो। विशेषले राइडरलाई झन्डै साढे २८ करोड र भारतीलाई १४ करोड जरिवाना हुने ठहर गरेको थियो ।