मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मुलुकलाई सफल बनाउन सबैको सहकार्य हुनुपर्छ : प्रचण्ड

मुलुकलाई सफल बनाउन सबैको सहकार्य हुनुपर्छ : प्रचण्ड


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई सफल बनाउन सबैको सहकार्य आवश्यक रहेको बताएका छन् । 
 
जननेता मदन भण्डारीको ६८औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आज आयोजना गरेको कार्यक्रममा उनले जनआकांक्षालाई सम्बोधन गर्ने विषयमा असफल भए प्रणाली नै असफल हुने बताए । 
 
उनले भने, “दुई नेताको मात्रै असफलता हुनेवाला छैन । त्यो नेकपाको मात्रै असफलता हुनेवाला छैन । पार्टी एकता गरेर असफल भइसकेपछि कम्युनिष्ट आन्दोलन फेरि यहीरुपमा उठ्न सायदै सम्भव हुँदैन । यो पार्टीमात्रै सकिएर कांग्रेस छँदैछ नि, कांग्रेसले नेतृत्व गर्ला भन्ने स्थिति पनि नेपालमा अब छैन ।” 
 
उनले जनताका आकांक्षा सम्बोधन गर्ने र राष्ट्रिय अन्तरराष्ट्रिय शक्तिलाई सन्तुलन राख्ने प्रक्रियामा सबैको समान बुझाइ, चिन्ता र सामूहिक मेहनत नभए आफूहरु नै असफल हुने खतरातर्फ जाने सक्ने संकेत गरे । 
 
“मदन भण्डारीको देशभक्ति, उद्देश्यप्रतिको निष्ठा र प्रतिक्रियावादीप्रतिको उहाँको वर्ग दृष्टिकोणका कारण उहाँ महान् हुनुहुन्थ्यो भनेर नै हामी भन्छौँ”, उनले भने, “त्यसो भन्छौँ भने कहिलेकाहीँ मलाई चिन्ता लाग्ने कुरो के हो भने हामी आजभोलि आफ्नो ‘छाला’ बचाउन तिर लाग्नेमा त छैनौँ कतै ? भाषा नरम गरेर नरिसाउन प्रतिक्रियावादी भन्ने तिर पो जान लागेका त छैनौँ ? हामी मारिएका छैनौँ अहिलेसम्म । मारिन पनि सक्छौँ । यहाँ विचारणीय छ ।”
 
जननेता भण्डारीको अवसान हत्या वा दुर्घटना भन्ने अझै पनि अन्योल नै रहेको उल्लेख गर्दै उनले नेपालको इतिहासमा भएका ठूला राजनीतिक नेतृत्वको हत्या वा प्रतिहत्याको घटनामा संलग्न पत्ता लाग्न नसक्नु दुःखद् भएको बताए । 
 
“हिजोको समयमा भएका कोतपर्व हुन् या दरबार हत्याकाण्ड, त्यस्तै ठूला राजनीतिक हत्यामा संलग्नलाई जनसमक्ष ल्याएर कारबाही गर्न हामीले सकेका छैनौँ”, उनले भने, “यस्ता ठूला घटनाको सत्यतथ्य पत्ता लगाउन सकेनौँ भने फेरि त्यस्तो घटना नदोहोरिएला भन्न सकिँदैन, घटनाको दोषीलाई कारबाही गर्न डरायौँ भने परिस्थिति जटिल बन्न सक्छ ।”