मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्यकर्मीको भूलचुकले बिरामीको मृत्यु भइरहेकोमा चिकित्सकको चिन्ता

स्वास्थ्यकर्मीको भूलचुकले बिरामीको मृत्यु भइरहेकोमा चिकित्सकको चिन्ता


काठमाडौँ । स्वास्थ्यकर्मीको हेलचेक्र्याइँ तथा सामान्य भूलचुकका कारण बिरामीको मृत्यु हुने संख्यामा वृद्धि भइराखेकोमा स्वयं चिकित्सकले चिन्ता व्यक्त गरेका छन् । 
 
बिरामीको उपचारका क्रममा स्वास्थ्यकर्मीको भूलचुक तथा स्वास्थ्य संस्थाका कारणले नेपालमा कति बिरामीले अकालमा ज्यान गुमाउँदछन् भन्ने हालसम्म कुनै निकायले अध्ययन अनुसन्धान गरेका छैनन् । 
 
विश्व स्वास्थ्य संगठनले स्वास्थ्यकर्मी र स्वास्थ्य सेवाका नकारात्मक कारणले अस्पतालमा भर्ना हुने दशमध्ये एक जनामा नकारात्मक असर पर्ने गरेको र मृत्युसम्म पु¥याएको जनाएको छ । दक्षिण एशियाली मुलुकहरूमा मृत्यु हुनेमध्ये २७ प्रतिशत स्वयं स्वास्थ्यकर्मीको भुलचुकले हुने गरेको जनाइएको छ । 
 
अस्पतालमा भर्ना भएका बिरामीको अस्पतालकै कारण संक्रमण देखिने, गलत शल्यक्रिया हुनु, गलत औषधि प्रयोगको निर्देश गर्नु, औषधिको मात्रा बढी हुनु तथा अस्पतालभित्रै चोटपटक लाग्ने गरेको पाइएको संगठनको भनाइ छ । 
 
बिरामी सुरक्षाको सुदृढ ढाँचाको विकास कसरी गर्ने भन्ने ध्येयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्वस्वास्थ्य सङ्गठन र निजी क्षेत्रको अस्पताल नेपाल मेडिसिटीद्वारा संयुक्तरूपमा आज यहाँ सोसम्बन्धी दुईदिने गोेष्ठीको आयोजना गरियो । 
 
स्वास्थ्य सेवा लिन स्वास्थ्य संस्थामा आउने बिरामीलाई प्रभाव पार्ने तत्वका पहिचान गरी सुरक्षा प्रदान गर्ने विषयमा विश्व स्वास्थ्य संगठन, अमेरिका, बेलायत तथा सार्क क्षेत्रका चिकित्सकले छुट्टाछुट्टै कार्यपत्र गोष्ठीमा प्रस्तुत गर्नेछन् । 
 
गोष्ठीको पहिलो सत्रमा शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक डा वासुदेव पाण्डेले उपचार लिन आएका बिरामीको सुरक्षित उपचार गर्नु अस्पताल र स्वास्थ्यकर्मीको प्रमुख दायित्वलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएको र कार्यान्वयनसमेत गरेको जानकारी दिए । 
 
“स्वास्थ्यकर्मीको समूहगत कार्य तथा औषधि, उपकरण, प्रयोगशालाको समन्वयले मात्र बिरामीको सुरक्षा हुन्छ । कहिलेकाहीँ यी कुराभन्दा बाहिर जाँदा बिरामी असुरक्षित हुन्छन् । पछिल्लो समय नेपालका तराई मधेसमा डेङ्गु नियन्त्रणमा चुनौती थपिएको छ । यस्तो अवस्थामा स्वास्थ्य निकाय संवेदनशील बन्नुपर्छ”, उनले भने । 
 
स्वास्थ्य सेवा विभागका डा अर्जुन सापकोटाले स्वास्थ्य सेवालाई सुरक्षित बनाउन विभागले स्वास्थ्यकर्मी, औषधि, उपकरण तथा जनचेतनामा विशेष ध्यान दिएको उल्लेख गर्दै स्वास्थ्य संस्था र सेवाका कारण बिरामीको मृत्यु हुन नदिन समन्वयकारी कामको खाँचो औँल्याए । अमेरिकाका डा पाउल किलगोरले अस्पताल र बिरामीलाई सुरक्षा प्रदान गर्न सामूहिक कार्यमा जोड दिनुपर्छ भने । 
 
भारतका डा गिरीधर ज्ञानीले स्वास्थ्यकर्मीको हेलचेक्र्याइँ तथा सामान्य भुलचुकले बिरामीको मृत्यु रोक्नु चिकित्सा क्षेत्रका लागि चुनौतीको विषय रहेको औँल्याए ।