मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पार्टी एकतामा गरिएका सहमतिबाट पछि हटे ठूलो दुर्घटना : प्रचण्ड

पार्टी एकतामा गरिएका सहमतिबाट पछि हटे ठूलो दुर्घटना : प्रचण्ड


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको क्रममा गरिएका सहमति र समझदारीबाट पछि हट्न थाले ठूलो दुर्घटना निम्तिने चेतावनी दिएका छन् ।
 
पार्टी एकता प्रक्रियालाई सबैले गहिरोरुपमा बुझ्न जरूरी रहेको भन्दै उनले सबैले आ–आफ्नो स्वार्थतर्फ केन्द्र्रित हुन थाले दुर्घटना हुन सक्ने भन्दै यसमा सबै सचेत बन्न आग्रह गरे । 
 
चितवनको भरतपुरमा आयोजित नेकपा जिल्ला कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै उनले पार्टी एकीकरणले नै समाजवादको नयाँ मोडेल, समृद्धिको मोडल दिन सम्भव रहेको उल्लेख गरे । 
 
उनले छिट्टै राजनीतिक प्रतिवेदन छाप्ने र बाँकी एकताको प्रक्रिया पनि टुङ्ग्याउने गरी अगाडि बढाइएको जानकारी दिए । अध्यक्ष प्रचण्डले उपस्थित पार्टीको नेता तथा कार्यकर्ताहरुलाई कम्युनिस्टको मर्मबारे इतिहासको स्मरण गराएका थिए । 
 
चितवनमा १५५ सदस्यीय कमिटी 
 
यसैबीच, नेकपा चितवनको जिल्ला कमिटी घोषणा गरिएको छ । प्रचण्डको उपस्थितिमा जिल्ला कमिटीका सचिव कृष्णभक्त पोखरेलले १५५ सदस्यीय जिल्ला कमिटीको घोषणा गरेका हुन् । नयाँ जिल्ला कमिटीमा तत्कालीन नेकपा एमालेबाट ८० र तत्कालीन माओवादी केन्द्रबाट ७५ जना परेका छन् । 
 
नेकपाको प्रदेश कमिटीले जिल्ला कार्यसमितिमा छनोट भएका १५५ जनाको नामावलीबारे परिपत्र गर्दै जिल्ला कार्यसमितिका सदस्यहरुको सूची पठाएको थियो । यसअघि नै पार्टीले जिल्ला कमिटीको अध्यक्षमा तत्कालीन माओवादी केन्द्रका नेता यमबहादुर परियार र सचिवमा तत्कालीन एमालेका नेता कृष्णभक्त पोखरेललाई चयन गरेको थियो । पार्टीको आन्तरिक विवादका कारण जिल्ला कमिटीको टुंगो लगाउन ढिलाइ भएको थियो । 
 
कमिटीमा ओली-बादल समूह रुष्ट
 
१५५ सदस्यीय जिल्ला कमिटीमा केपी ओली समूहका ६ जनामात्रै सदस्य चयन भएका छन् । तत्कालीन एमाले चितवन पार्टी सचिव पार्वती रावलसहित ६ जनामात्रै ओली समूहका सदस्यले सपथ ग्रहण गरेका थिए ।
 
तत्कालीन एमालेको नवौँ जिल्ला अधिवेशनमा ओली समूह पराजित भएको थियो । माधव नेपाल समूहले जिल्ला कमिटीको अधिकांश स्थानमा कब्जा जमाएको थियो । सोही आधारमा माधव नेपाल पक्षले अहिलेको नयाँ जिल्ला कमिटीमा पनि आफ्नो वर्चश्व कायम राखेको छ । 
 
नयाँ जिल्ला कमिटीमा पूर्वमाओवादीलाई झण्डै ५० प्रतिशतको हाराहारीमा सदस्यहरु दिएको भन्दै पूर्वएमालेभित्र असन्तुष्टि बढेको छ । तत्कालीन जिल्ला पार्टी नेतृत्वप्रति पूर्वमाओवादी हावी भएको उनीहरुको बुझाइ छ । जिल्लाको मतलाई आधारमा मान्दा ७० र ३० को अनुपातमा कमिटी बन्नुपर्नेमा सो नभएको भन्दै पूर्वएमाले वृत्तमा आलोचना चुलिएको हो । कमिटी गठनमा खासगरी केपी ओली समूह बढी रुष्ट छ । 
 
ओली समूहमात्रै होइन जिल्ला कमिटी गठनमा पूर्वमाओवादी केन्द्रका रामबहादुर थापा ‘बादल’ समूह पनि असन्तुष्ट बनेको छ । प्रचण्ड समूहका कमजोर योगदान र भूमिका भएका व्यक्तिहरुलाई जिल्ला कमिटीमा राखेर बादल समूहका महत्वपूर्ण व्यक्तिहरुलाई बाहिर राखिएको भन्दै असन्तुष्टि बढेको हो । 
 
गृहमन्त्री थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदीले सामाजिक सञ्जाल फेसबुकमा यसबारे असन्तुष्टि पोखेका छन् ।