मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पढाउन नसके शिक्षण पेशा छाड्नुस् : शिक्षामन्त्री

पढाउन नसके शिक्षण पेशा छाड्नुस् : शिक्षामन्त्री


भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पढाउन नसक्ने शिक्षकलाई शिक्षण पेशा छाडेर ठाउँ खाली गरिदिन आग्रह गरेका छन् । 
 
चाँगुनारायण नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रम सार्वजनिक कार्यक्रममा आज मन्त्री पोखरेलले प्रभावकारी शिक्षण सिकाइ गर्न नसक्ने शिक्षकले ठाउँ ओगटेर बस्न नहुने बताए । 
 
मन्त्री पोखरेलले भने, ‘शिक्षा क्षेत्र जागिर खाएर बस्ने ठाउँ होइन, यो सक्षम नयाँ पुस्ता बनाउने र भोलिको देश बनाउने ठाउँ हो, अबको सार्वजनिक शिक्षा प्रभावकारी हुनुपर्छ, कक्षाकोठामा प्रभावकारी शिक्षण सिकाइ गर्नुस्, पढाउन सक्दिन भन्ने लाग्छ भने ठाउँ खाली गरिदिनुस्, नयाँ पुस्ता आउँछन् ।’
 
शिक्षामा क्रान्ति र सुधार गर्दै परिवर्तन गर्ने हो भने कक्षा कोठा सिकाइ केन्द्रित हुनुपर्नेमा जोड दिँदै उनले विद्यार्थीको क्षमताको पहिचान गरेर शिक्षकले पढाउनुपर्ने औँल्याए । गुणस्तरहीन भयो भनी सार्वजनिक शिक्षाको निकै आलोचना भएको भन्दै उनले कमजोर विद्यार्थीको जिम्मा अब शिक्षकले लिनुपर्नेमा जोड दिए । 
 
मन्त्री पोखरेलले देशभर अहिले पनि करिब सात लाख शिक्षण अध्यापन अनुमतिपत्र लिएर बसेका शैक्षिक बेरोजगार भएको बताउँदै उनले शिक्षकले अधिकारमात्रै खोज्ने नभई कक्षाकोठाको सिकाइ उपलब्धि वृद्धि गर्नुपर्ने बताए ।
 
नेपालको शिक्षा प्रणाली अझै पनि घोकन्ते विद्यामै सीमिति रहेको गुनासो गर्दै मन्त्री पोखरेलले भने, ‘एउटा विद्यार्थीलाई कक्षा कोठामा वर्षभरि घोकाउने र तीन घन्टाको परीक्षामा सीमित गरेर मूल्याङ्कन गर्ने शिक्षा प्रणाली नै गलत छ ।’ 
 
स्थानीय तहलाई खल्तीबाट शिक्षक भर्ना नगर्न आग्रह गर्दै उनले भने, ‘शिक्षक भर्ना गर्दा शिक्षक सेवाबाट उत्तीर्ण भएकालाई गर्नुस्, आफन्त, नातागोता र खल्तीबाट झिकेर शिक्षक भर्ना नगर्नुस् ।’
 
देशभरका सार्वजनिक विद्यालयमा प्राविधिक शिक्षा पु¥याएर ८० प्रतिशत विद्यार्थीको हातमा सीप पु¥याउने, ३५ हजार विद्यालयमा बिरुवा रोपेर हरित विद्यालयको अभियान सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको उनको भनाइ थियो । 
 
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले चाँगुनारायण इञ्जिनियरिङ कलेज सरकारले लिन नसके चाँगुनारायण नगरपालिकालाई जिम्मा दिन मन्त्रीसँग माग गरे । उनले शिक्षा मन्त्रीले खुट्टा कमाउँदा यहाँका विद्यार्थी र यहाँका सम्पत्ति अलपत्र परेको भनाइ राख्दै चाँगुनारायणको सम्पत्ति नगरपालिकालाई सुम्पन आग्रह गरे ।
 
कार्यक्रममा नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले चाँगुनारायण नगरपालिकाले ‘हाम्रो चाँगुनारायण’ नामक एक सय पूर्णाङ्कको पाठ्यक्रम निर्माण गरी कक्षा–६, ७ र ८ मा एकै पटक लागू गरेको बताए । चालु शैक्षिक सत्रबाट लागू गरिएको पाठ्यक्रम आगामी वर्षबाट थप परिस्कृत र परिमार्जनसहित अन्य कक्षामा समेत लागू गरिने उनले बताए ।