मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सुनको अवैध कारोवार नियन्त्रणमा प्रहरीको सक्रियता बढ्यो

सुनको अवैध कारोवार नियन्त्रणमा प्रहरीको सक्रियता बढ्यो


काठमाडौँ । अवैध रुपमा भारतबाट सुन ल्याएको अभियोगमा २०७५ फागुन २ गते कञ्चनपुरको झलारीका लक्ष्मण तिरुवा पक्राउ परे । उनको घरमा खाल्डोभित्र लुकाएर राखेको अवस्थामा पाँच किलो सुन फेला प¥यो । 
 
यस्तै प्रहरीले शङ्कर विकको घरमा पनि खाल्डोमा लुकाएर राखेको १८ किलो अवैध सुन बरामद ग¥यो । प्रहरीले अवैध सुन कारोवार नियन्त्रणका लागि सक्रियता बढाएको छ । 
 
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल सुन अवैध कारोवारमा संलग्न व्यक्तिमार्फत सूचना लिएर अन्यलाई पक्राउ गर्ने अभियान तीव्र पारिएको बताउँछन् । चालू आवको ११ महिनामा सुनको अवैध कारोवारमा संलग्न १०७ जनालाई पक्राउ गरिएको छ । 
 
अघिल्लो आवमा ९० जना पक्राउ परेका थिए । सुनको अवैध कारोवार बढ्दै गएको छ । चालू आवमा पक्राउ परेका व्यक्तिबाट ८४ किलो सुन बरामद गरिएको पोखरेलले बताए । सो क्रममा रु २३ करोड ५५ लाख ४१ हजार राजश्व सङ्कलन भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले मात्र रु १२ करोड ९० लाख राजश्व सङ्कलन गरेको छ । 
 
  नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालका अनुसार अपराध र अपराधीप्रति कानूनी कठोरताको नीति लिएकाले घटनामा कमी आएको हो । प्रहरीले अवैध सुन कारोवार नियन्त्रणलाई उच्च प्राथमिकता दिँदै आएको छ । 
 
आधुनिक प्रविधिको कारण कारोवारीले सुनको अवैध कारोवारमा पनि नयाँ नयाँ शैली अपनाउने गरेका छन् । प्रहरीले सक्रियता बढाउनाका साथै सूचना सञ्जाल विस्तार गरेकाले अपराध घट्दै जाने पोखरेलको भनाइ छ । 
 
नियन्त्रणबारे अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्दीप भण्डारीले भन्सारसँग समन्वय गरी विशेष निगरानीका साथ सुनको अवैध कारोवार गर्नेलाई पक्राउ गरिँदै आएको बताए ।